विश्वशान्ति र समृद्धिका लागि चुनौती बढ्दो: मन्त्री राणा

काठमाडौं। परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले विश्वमा शान्ति र समृद्धिको प्राप्तिका लागि एसियाली क्षेत्र एवं विश्वमै चुनौती बढिरहेको बताउनुभएको छ ।

कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग ९एसिडी०को तेस्रो सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले पछिल्लो समय विश्वका विभिन्न क्षेत्रमा बढ्दो द्वन्द्व तथा भू‐राजनीतिक अवस्था लगायतका कारण शान्ति र समृद्धिको प्राप्ति जटिल बन्दै गएको धारणा राख्नुभयो ।

अहिलेको विश्वले बढ्दो ध्रुवीकरण र विभाजनको सामना गर्नु परिरहेको र एसियाली क्षेत्रमा समेत बढ्दो रूपमा देखिएको युद्ध र द्वन्द्वको अवस्था ठुलो चिन्ताको विषय भएको उहाँको भनाई थियो ।

साथै जलवायु परिवर्तन अहिलेको विश्वको एक प्रमुख चुनौती बनिरहेकाले यसको समाधानका लागि तत्कालै प्रभावकारी कदमहरू चाल्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।

मन्त्री डा राणाले भन्नुभयो “लामो समयदेखिका द्वन्द्व, भू–राजनीतिक अवस्था, प्रतिद्वन्द्विता, आतङ्कवाद, प्राकृतिक प्रकोपजस्ता कारणहरू विश्वव्यापी शान्ति, सुरक्षा र समृद्धिका बाधक बनिरहेका छन् । अन्तर्राष्ट्रिय सङ्गठित अपराध अर्को यस्तै समस्या बनेको छ ।

एसियाली क्षेत्रमा पनि शान्ति र समृद्धिको प्राप्तिका लागि यस्तै धेरै समस्या छन् । हामी अझै पनि सन् २०३० सम्म पूरा गर्नुपर्ने विश्वव्यापी दिगो विकासका लक्ष्यहरू पूरा गर्न सक्ने अवस्थामा देखिएका छैनौँ ।

ती लक्ष्यबाट हामी अझै धेरै टाढा छौँ । त्यसैले पनि हामी एसियाली देशहरू भोलिको पुस्ताको सुरक्षित भविष्यका लागि सहकार्य र एकताकासाथ काम गर्नुपर्ने अवस्था छ ।

साथै मन्त्री डा राणाले खेलकुदका माध्यमबाट सामाजिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा नै एकता र सद्भाव कायम गर्न सहयोग पुगेको धारणा पनि राख्नुभयो।

उहाँले भन्नुभयो “मानव सभ्यतासँगै विकास भएको खेलकुदले मानिसहरूबिच बढ्दो द्वन्द्वको अवस्थालाई रोक्न, तनाव कम गर्न र विभिन्न देशहरूका बिच मित्रताको वातावरणलाई प्रवर्धन गर्न सहयोग पुर्‍याएको छ।