तीन दिनभित्र काठमाडौँवासीको धारामा मेलम्चीको पानी झरिसक्ने

काठमाडौं । मेलम्चीको पानी तीन दिनभित्रमा काठमाडौं उपत्यकामा वितरण गरिने भएको छ । खानेपानीमन्त्री प्रदीप यादव सोमबार सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची मुहानमा गएर स्थानीयको माग पूरा गराउने सहमति गरेपछि आज मंगलबार पानी सुरुङमा प्रवेश गराउने कार्यक्रम बनेको छ ।

मन्त्री यादवको नेतृत्वमा मेलम्ची विकास समितिका अधिकारीहरु तथा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको नेतृत्वमा स्थानीय संघर्ष समितिबीच सोमबार राति सहमति भएपछि सुरुङमा पानी पठाउने तयारी गरेको हो । मन्त्री यादवले स्थानीय राखेको माग पूरा गराउन दिनभर छलफल गरेका थिए ।

हेलम्बुमा २०७८ सालमा आएको बाढीबाट प्रभावितहरुको पुनर्स्थापना, सडक, पुल तथा भौतिक संरचना निर्माण तथा पानीको महसुलको निश्चित प्रतिशत रकम हेलम्बुको विकासमा लगाउने सम्बन्धी सहमति भएपछि स्थानीयले पानी सुरुङमा प्रवेश गराउन दिने भएका हुन् ।

हेलम्बु गाउँपालिकाको कार्यालयमा भएको वार्तामा गरिएको सहमति कार्यान्वयनमा आफू इमान्दारीपूर्वक लाग्ने जानकारी मन्त्री यादवले दिए ।

आफ्नो माग पूरा नएभएसम्म पानी लैजान नदिने भन्दै स्थानीय बाढी प्रभावितले मुहान क्षेत्रमा भेला भएर केही समयदेखि नाराजुलुस गर्दै आएका थिए । बाढी गएको तीन वर्ष पूरा भए पनि राजनीतिक नेतृत्व र सरकारले बोलेका बाचा अधूरै रहेको भन्दै उनीहरुले योजनाबद्ध विकास सञ्चालन गर्न माग गर्दै आएका छन् ।

त्यतिबेला आएको बाढीले हेलम्बुदेखि मेलम्चीसम्म करिब २० किमि क्षेत्रमा धनजनको क्षति गरेको थियो । पर्याप्त बजेट र योजनाको अभावमा पुनर्निर्माण हुन सकेको छैन ।

बाढीपहिरोले काठमाडौं उपत्यकामा पानी अभाव हुन थालेपछि मेलम्चीको पानी ल्याउन मन्त्री यादव आन्दोलनरत पक्षसँग वार्ता गर्न हेलम्बु गएका थिए । यादवले आफूले प्रधानमन्त्री केपी ओलीसँग हेलम्बुवासीको मागका विषयमा छलफल गरेर मुहान आएको बताए ।

सहमतिमा सरकारका तर्फबाट खानेपानीमन्त्री यादव तथा प्रभावितका तर्फबाट हेलम्बुका अध्यक्ष निमा ग्याल्जेन, संघर्ष समितिका संयोजक पासाङ शेर्पासहित कांग्रेस, एमाले, माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका राजनीतिक दलका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

यादवले मुलुकमा बाढीपहिरोले संकट निम्त्याएका बेला हेलम्बुवासी पनि संवेदनशील भएर पानी छाड्न तयार भएको बताए । मन्त्री यादवले उपत्यकामा पानीको अभाव भएपछि दक्षिणकाली नगरपालिका गएर पानी ललितपुरलाई पनि दिन आग्रह गरेका थिए । दक्षिणकालीले कुटुरी मुहानबाट पठाएको पानी केयूकेएलको भैंसेपाटी मुहानमार्फत ललितपुरमा वितरण गरिएको थियो ।

उपत्यका आसपासका मुहान तथा वितरण प्रणाली बाढीपहिरोका कारण क्षति भएपछि उपत्यकामा दैनिक ६ देखि ७ करोड लिटर मात्र पानी वितरण गरिँदै आएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार काठमाडौंको दैनिक माग भने ४७ करोड लिटर रहेको छ ।

हिउँदमा मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आउने गरेको छ । बर्सातमा मेलम्चीको मुहान बन्द भएपछि काठमाडौंमा सुन्दरीजल र उपत्यका आसपासका अन्य स्रोतबाट १७ करोड लिटर पानी वितरण गरिँदै आएको थियो ।

गत १२ गतेको बाढीपहिरोले उपत्यका आसपासका मुहानमा क्षति गरेको र वितरण प्रणाली बिग्रेका कारण पानीको अभाव भएका बेला मेलम्ची ल्याउन लागिएको जानकारी मन्त्री यादवले दिए । उनले कान्तिपुरसँग कुराकानी गर्दै सोमबार मेलम्चीमै बसेर मंगलबार पानी सुरुङमा प्रवेश गराएर मात्र काठमाडौं फर्कने बताए ।

बाढीपहिरोबाट क्षति हुने गत असारमा मुहानमै सुरुङको मुख बन्द गरेर राखिएको थियो । ०७८ सालमा आएको बाढीपहिरोले मुहान क्षतिग्रस्त भएपछि बर्षात्‌मा मेलम्चीको पानी बन्द गरिँदै आएको छ । खानेपानी मन्त्रालयले गत १० गते पानी वितरण गर्ने योजना बनाए पनि बाढीप्रभावित स्थानीयले विभिन्न माग राखेर विरोधमा उत्रेका थिए ।

सुरुङमा अहिले पनि पानी भरिएकै अवस्थामा भएकाले पानी प्रवेश गराएको एकरदुई दिनमा वितरण गर्न सकिने मेलम्ची विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए ।

उनले ढिलोमा फूलपातीको दिनसम्म पानी उपत्यकावासीको धारामा झरिसक्ने बताए । उनका अनुसार मुहानमा मंगलबार बिहान सरसफाइ गरेपपछि पानी सुरुङमा प्रवेश गराउने योजना रहेको कार्यकारी निर्देशक लामिछानेले बताए।

मेलम्चीको पानी पहिलो पटक २०७७ चैतमा काठमाडौंमा ल्याए पनि सोही वर्षदेखि नै बाढीपहिरोको चपेटामा पर्दै आएको छ । ०७८ मा मुहानबाट निकै माथि हिमाली भेगको भेमाथाङबाट सुरु भएको पहिरोको खतरा हरेक बर्षात्‌मा हुने गरेको छ ।

मेलम्चीको २६ किमि सुरुङबाट पानी सुन्दरीजलमा निर्माण गरिएको प्रशोधन केन्द्रमा खसालिनेछ ।

त्यहाँबाट प्रशोधित पानी थोक वितरण प्रणाली हुँदै घरघरको धारामा पुर्‍याइने छ । बर्सेनि बाढीको जोखिम हुने भएपछि मुहानको इन्टेक नै झण्डै एक किमिमाथि सार्ने योजना अघि सारिएको छ।