श्रीमतीको टाउको काटी बोकेर हिँड्दै गरेको श्रीमान पक्राउ

उदयपुर। उदयपुरको त्रियुगामा श्रीमतीको टाउको काटी बोकेर हिँड्दै गरेको अवस्थामा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।

उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेका २८ वर्षीया प्रमिला लामाको टाउको काटेर बोकेर हिँड्दै गरेको अवस्थामा श्रीमान ३६ वर्षीय जंगबहादुर घिसिङ तामाङलाई प्रहरील मंगलबार साँझ पक्राउ गरेको हो।

सामान्य विवादमा नै तामाङले श्रीमतीलाई धारिलो हतियार खुकुरी प्रयोग गरी घाँटी काटेको पाइएको इलाका प्रहरी कार्यालय जलजलेको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी हरिहरनाथ योगीले बताए।

ताप्ली गाउँपालिका–४ थानागाउँ स्थायी घर भई उनीहरू त्रियुगा नगरपालिका–६ जलजलेस्थित वडा कार्यालय नजिकै शम्शेर तामाङको घरमा कोठा भाडामा लिई चिया पसल गरी बस्दै आएका थिए।

प्रहरीले तामाङलाई हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको जनाएको छ।