श्रीमानको खुर्पा प्रहारबाट श्रीमती गम्भीर घाइते

काठमाडौं। दाङमा श्रीमानले खुर्पा प्रहार गरी श्रीमतीलाई गम्भीर घाइते तुल्याएका छन्।

श्रीमतीमाथि खुर्पा प्रहार गरेपछि उनले आफैलाई पनि घाइते बनाएको प्रहरीले जानकारी दिएको छ।

जिल्लाको दंगीशरण गाउँपालिका वडा नम्बर ६ बागरका ५२ वर्षीय राजकुमार वादीले श्रीमती ४० वर्षीया नीरा वादीलाई खुर्पा प्रहार गरी गम्भीर घाइते तुल्याएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले बताए।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ बखरियास्थित माइती घरमा दिउँसो राजकुमारले श्रीमती नीरामाथि खुर्पा प्रहार गरेका हुन्।

प्रहरी निरीक्षक थापाका अनुसार घरायसी झगडापछि नीरा ८ दिन पहिले माइती गएकी थिइन्।

असोज २२ गते राजकुमार पनि श्रीमती नीरालाई लिन भनेर माइती घरमा पुगेका थिए।

दुई दिनपछि असोज २४ गते दिउँसो उनीहरूका बीचमा फेरि विवाद भएको र त्यही क्रममा राजकुमारले नजिकै रहेको खुर्पाले श्रीमती निरामाथि पटकपटक प्रहार गरी गम्भीर घाइते तुल्याएको प्रहरी निरीक्षक थापाले बताए। नीराको घाँटी, दुवै हातमा गहिरो घाउचोट लागेको छ।

श्रीमतीलाई खुर्पा प्रहार गरी घाइते बनाएपछि राजकुमारले आफ्नै टाउकामा पनि खुर्पा प्रहार गरेका थिए।

उनको टाउकामा पनि गहिरो चोट लागेको छ।

घाइतेमध्ये श्रीमती नीरालाई बिहीबार नै तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो।

त्यहाँ प्रारम्भिक उपचार गरेपछि थप उपचारका लागि बाँकेस्थित नर्सिङ होम रिफर गरिएको छ।

राजकुमारको भने तुलसीपुरमै उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।