आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं।जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार तीन प्रदेशमा हल्का वर्षा हुने पूर्वानुमान गरेको छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा र राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले सोमबार जारी गरेको बुलेटिनमा उल्लेख छ।

महाशाखाले लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव र कोशी, मधेस र बागमती प्रदेशमा आंशिक प्रभाव रहेको साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जनाएको छ।

सोमबार बिहान कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।

रातिपनि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।