घुमुवा प्रहरी हुँ भन्दै रकम असुली गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं।रौतहटमा घुमुवा प्रहरी हुँ भन्दै ठगेको आरोपमा एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटले आइतबार राति साढे ९ बजे परोहा नगरपालिका-२ बस्ने ३५ वर्षीय सुनिलकुमार बैठालाई पक्राउ गरेको हो।

उनले घुमुवा प्रहरी हुँ भन्दै सर्वसाधरणसँग रकम असुल गर्न खोजेको, विभिन्न व्यक्तिहरूको जिउ तलासी लिएको भन्ने सूचना प्रहरीले पाएको थियो।

उक्त सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट जिङगड्वा रौतहटबाट खटिएको टोलीले परोहा-२ लालबकैया पुलबाट पक्राउ गरेको हो।

उनले बोकेको झोलाबाट १७ हजार ९३५ रुपैयाँ, लागु औषध नाइट्राभेट १० पिस, २२ पुरिया गाँजा (२०० ग्राम) एउटा मोटरसाइकल लगायत बरामद भएको हो।

उनलाई कार्यालयले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।