बीपी राजमार्गमा आज साँझदेखि ठुला गाडी पनि चल्ने
काठमाडौं। सोमबार बेलुकादेखि बीपी राजमार्गमा ठुला गाडीहरू समेत चल्ने भएका छन् । वर्षासँगैको पहिरोका कारण क्षतिग्रस्त राजमार्गमा नयाँ ट्र्याक खुलाएर केही दिन अघिदेखि साना सवारीसाधन चल्न दिइएकोमा आजदेखि ठुला सवारीसाधन चलाउन लागिएको सडक डिभिजन भक्तपुरले जनाएको छ।
ठुला सवारीसाधन पास हुन अवरोध हुँदै आएको चौकीडाँडा र माम्ती खोला नजिकको डाइभर्सन आज साँझसम्म सुधार भइसक्ने र त्यसपछि सो सडकमा सञ्चालन अनुमति प्राप्त गरेका सबै प्रकारका सवारीसाधन सञ्चालन हुन सक्ने डिभिजनले जनाएको छ।
सडक खुला भएपनि क्षतिग्रस्त राजमार्ग क्षेत्रमा सुख्खा पहिरो झर्ने सम्भावना कायमै रहेको भन्दै डिभिजनले रातिको समयमा भने यो क्षेत्रमा यात्रा नगर्न अनुरोध गरेको छ।
असोज १०, ११ र १२ गतेको वर्षाका कारण यो राजमार्ग अवरुद्ध थियो। उक्त राजमार्ग अन्तर्गत काभ्रेको भकुण्डेबेसीदेखि वर्षेखोला खण्डको ८ किलोमिटर पूर्ण रूपमा बगाएको कार्यालयले जनाएको छ।