सरकार परिवर्तनको हल्ला निराधार: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार परिवर्तनको हल्ला निराधार भएको बताएका छन्।

६९औं प्रहरी दिवसका अवसरमा आज (बुधबार)प्रहरी मुख्यालय नक्सालमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले दसैंपछि सरकार परिवर्तन हुने हल्ला निराधार भएको भन्दै अहिलेको गठबन्धनको सरकार पूरै अवधि चल्ने दावी गरे।

ठूलो योगदान र इतिहास बोकेका नेपाली कांग्रेस र एमाले मिलेर अहिलेको बनेको दुई तिहाइको सरकार खरानीको डल्लो नभएको उनले बताए।

प्रधानमन्त्री ओलीले देशलाई परिवर्तन गर्नका लागि ठूला दल मिलेर सरकार बनेको स्पष्ट पारे।

‘कुनै प्रकारका भ्रमहरूमा नपर्न म आग्रह गर्न चाहन्छु। अहिले दिनैपिच्छे सरकार परिवर्तन हुन्छ भन्ने कुरा पनि सुनिन्छ। दसैँपछि तुरुन्तै परिवर्तन हुन्छ भन्ने पनि सुनिए,उनले भने, ‘०८४ सालको दसैंपछिको चुनावमा?

आफूले एक वर्ष ९ महिना नेतृत्व गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले आगामी आम निर्वाचन कांग्रेस सभापति देउवाको नेतृत्वमा हुने समेत बताए। उनले अहिलको संविधान र अहिलको प्रणालीको रक्षा गर्दै जनताको अधिकारलाई सुदृढ बनाइने जिकिर गरे।

उनले प्रहरीसम्बन्धी कानुन छिट्टै पारित गर्ने र प्रहरीमा नयाँ दिनको उदय हुने धारणा राखे। त्यस्तै गृहमन्त्री रमेश लेखकले सङ्घीय संसद्को आगामी अधिवेशनबाट प्रहरीसम्बन्धी नयाँ कानुन निर्माण गरेर कार्यान्वयनमा ल्याइने बताए।

उनले सुरक्षा संगठनहरूलाई थप सशक्त बनाउन सरकारले गर्न सक्ने सबै उपायहरू अवलम्बन गर्ने बताए।