घरायसी विवादमा चक्कु प्रहार गरी भाइको हत्या

दाङ । दाङमा घरायसी जग्गा विवादका कारण दाजुले चक्कु प्रहार गरी भाइको हत्या गरेको खुलेको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका ६ घर भइ हाल दाङको बबई गाउँपालिका ४ बस्ने सोमार तामाङका २० वर्षीय छोरा अनिल तामाङलाई उनका दाजु ३२ वर्षीय पूर्ण तामाङले मंगलबार बिहान चक्कु प्रहार गरी हत्या गरेको खुलासा भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डीएसपी अनिल ठकुरीले बताए ।

बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रहरीले घटनाबारे जानकारी दिएको हो । अनिल असोज २३ गते बुबाआमा बस्दै आएको ठाउँ दाङको बबई गाउँपालिका ४ हापुरे आएका थिए ।

अनिलको उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको डीएसपी ठकुरीले बताए ।

उनका अनुसार सो घटना शङ्कास्पद लागेपछि इप्रका तुलसीपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमान्डमा विशेष प्रहरी टोलीले लुकीछिपी बसेको पूर्णलाई नियन्त्रणमा लिइएको थियो ।

यस्तै प्रहरीले बुवा सोमारलाई पनि नियन्त्रणमा लिएको छ । जग्गाको विषयलाई लिएर बुबासँग पटक पटक झगडा गर्ने गरेको र सोही विषयमा आफूसँग पनि विवाद गरेपछि चक्कु प्रहार गरेको अभियुक्तले प्रहरीलाई बयान दिएका छन्।