पहिलो टी-२० मा नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य

काठमाडौं।अमेरिका विरुद्धको पहिलो टी-२० खेलमा नेपालले १६५ रनको लक्ष्य दिएको छ।

अमेरिकाको डलासस्थित ग्रान्ड पिएरी क्रिकेट रङ्गशालामा घरेलु टिमले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले नौ विकेटको क्षतिमा १६४ रन बनायो।

नेपालका लागि रोहित पौडेलले ४९ रन जोडे। अन्तिम बलमा रन आउट हुनुअघि रोहितले ३३ बलमा चार चौका र एक छक्का प्रहार गरेका थिए।

त्यसअघि ओपनरद्वय अनिल साह र आसिफ शेख २७/२७ रन जोडेर आउट भएका थिए। कुशल भुर्तेलले १० रन मात्र जोड्न सक्दा गुलसन झा ११ रनमा आउट भए।

दिपेन्द्र सिंह ऐरीले १७ बलमा दुई चौका र एक छक्काको मद्दतमा २८ रन जोडे। करण केसी र आरिफ शेख शून्यमा आउट भए भने सोमपाल कामीले दुई रन मात्र जोडे।

नेपालले अन्तिम दुई ओभरको अन्तिम आठ बलमा पाँच विकेट गुमाएको थियो। जसका कारण नेपालले अन्तिम दुई ओभरमा १४ रनमात्र जोड्न सक्यो।

बलिङमा अमेरिकाका सौरभ नेत्रभाल्कर, जसदीप सिंह र हर्मित सिंहले दुई दुई विकेट लिए। दुई देशबीचको दोस्रो खेल नेपाली समयअनुसार आइतबार बिहान हुँदैछ।