साफ वुमन्स च्याम्पियनसिप: नेपालले आज भुटानसँग खेल्दै

काठमाडौं । काठमाडौंमा जारी साफ वुमन्स च्याम्पियनसिप–२०२४ मा आज नेपालले भुटानसँग पहिलो खेल खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ ।

भुटानविरुद्ध लगातार गोल गर्दै आएकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ फ्रेन्च महिला लिगमा व्यस्त रहेकोले उनले पहिलो खेल गुमाउने भएकी छन् ।

यसअघि साफ च्याम्पियनसिपमा भुटानसँग खेलेको हरेक खेलमा सावित्राले गोल गरेकी थिइन् । नेपालका लागि ४६ खेल खेल्दै सावित्राले सर्वाधिक ५३ गोल गरेकी छन् ।

तुलनात्मक रुपमा नेपालभन्दा भुटान कमजोर भएपनि पछिल्लो समय भुटानको फुटबलले प्रगति गरिरहेको छ। साम्बा नहुँदा नेपालका अन्य खेलाडीका लागि राम्रो प्रदर्शन गर्ने र गोल गर्ने अवसर हुनेछ ।

युएईको अबुधाबी कन्ट्री क्लबबाट एएफसी वुमन्स च्याम्पियन्स लिग खेलेर आएकी रेखा पौडेल र रश्मिकुमारी घिसिङले नेपालको फरवार्ड लाइन सम्हाल्ने सम्भावना छ ।

नेपालले यसअघि ६ संस्करणमध्ये चारपटक भुटानसँग खेलेको थिए । जसमा सबै खेल नेपालले जितेको छ । सन् २०१४ मा पाकिस्तानमा भएको तेस्रो साफमा नेपालले भुटानलाई ८–० ले पराजित गरेको थियो।

त्यसै खेलबाट साम्बाले नेपालको लागि डेब्यु गरेकी थिइन् र एक गोल गरेकी थिइन् । यस्तै सन् २०१६ मा भारतको सिलीगुरीमा भएको चौथो साफमा साम्बाले दोहोरो ह्याट्रिक गर्दा नेपालले भुटानलाई ८–० ले नै पराजित गरेको थियो ।

सन् २०१९ मा विराटनगरमा भएको पाँचौ साफमा नेपालले भुटानलाई ३–० ले पराजित गरेको थियो । जहाँ साम्बाले एक गोल गरेकी थिइन् । पछिल्लो पटक सन् २०२२ मा दशरथ रंगशालामै भएको छैटौं साफमा साम्बा र अनिता बस्नेतले दुई–दुई गोल गरेपछि नेपालले भुटानलाई ४–० ले पराजित गरेको थियो ।

साफमा नेपालले भुटान विरुद्ध अहिलेसम्म कुनै गोल खाएको छैन भने २३ गोल गरेको छ । पछिल्लो पटक २०२२ मा काठमाडौंमै भएको साफमा भुटानले पहिलो पटक सेमिफाइनल पुगेर इतिहास रचेको थियो । भुटानले त्यही प्रदर्शनलाई दोहो¥याउने लक्ष्य राखेको छ।