माछापुच्छ्रे सहकारीका सञ्चालकसहित १०९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र ऋणीविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको छ ।

माछापुच्छ्रे सहकारीका अध्यक्ष अमलेश कर्ण
बचतकर्ताको ७ करोड ८४ लाख रुपैयाँ हिनामिना गरेको अभियोगमा माछापुच्छ्रे सहकारीका अध्यक्ष अमलेश कर्णसहित सहकारीका पदाधिकारी, सञ्चालक समितिदेखि ऋण उपसमितिका संयोजकदेखि सदस्यहरू गरी २१ जना र ८८ जना ऋणी गरी कुल १०९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको हो ।

प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय मार्फत उनीहरू विरुद्ध सहकारी ठगी विरुद्ध मुद्दा दायर गरेको हो। प्रहरीले अध्यक्ष कर्णलाई पक्राउ गरिसेको छ।

सञ्चालक समिति उपाध्यक्ष सनातन कुमार मण्डल, लेखा समितिको सदस्य तथा हालको सञ्चालक समिति सचिव उत्तम ढुङ्गेल, कोषाध्यक्ष सोमी भगत, सञ्चालक समिति सदस्य प्रभाकर थापालगायत भने फरार छन्।

सहकारी ठगी मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालयले १२० जनालाई प्रतिवादी बनाएको थियो । प्रतिवादी बनाएको मध्ये ११ जनाको तीन पुस्ते नखुलेपछि प्रारम्भिक चरणमा १०९ जनालाई मात्रै प्रतिवादी बनाएर अदालतमा अभियोग दर्ता भएको हो।