रास्वपाको दाबी-वास्तविक सहकारी ठग जोगाउन रविलाई पक्राउ गरियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारले प्रतिशोध साधेर पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको आरोप लगाएको छ।

सभापति लामिछाने पक्राउ परेपछि एक विज्ञप्ति जारी गर्दै सरकारले बिना कारण, बिना आधार सभापतिलाई लामिछानेलाई पक्राउ गरेको रास्वपाको दाबी छ।

सभापति लामिछाने पक्राउको भर्त्सना गर्दै न्यायिक निकायको छानबिनलाई सघाउने पनि रास्वपाले जनाएको छ।

‘बिना कारण बिना आधार सभापतिलाई पक्राउ गरेर आम जनताको सहकारीमा डुबेको ८७ अर्ब अपचलन गर्नेलाई उन्मुक्ति दिने खेल सुरु भएको सहजै बुझ्न सकिन्छ’ रास्वपाद्वारा विज्ञप्तिमा भनिएको छ।

ठूला भ्रष्टाचार प्रकरणमा एक–अर्कालाई बचाउँदै आएका दलहरूले नयाँ राजनीतिक अभियानप्रति आक्रमण गरेको पनि रास्वपाले जनाएको छ।

रास्वपाले भनेको छ-‘गिरीबन्धु, भुटानी शरणार्थी काण्ड टेरामक्स र बाईडबडीजस्तो अर्बौँको घोटाला आपसी समझदारीमा एक अर्कोलाई बचाउँदै लुट्दै आएका दलहरूले नयाँ राजनीतिक अभियानप्रति आक्रमण गरेका हुन्।

रास्वपाले देशमा परिवर्तन चाहनेहरूलाई देशमा दशकौँदेखि हुँदै आएको राजनीतिक जालझेलको विरुद्ध उभिन पनि आग्रह गरेको छ।

शुक्रबार साँझ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई पार्टी कार्यालय वनस्थलीबाट पक्राउ गरेको थियो ।

काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई कास्की लगिएको छ। उनीविरुद्ध कास्की प्रहरीमा उजुरी परेकाले उनलाई पोखरा लगिएको हो । लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराधमा पनि अनुसन्धान हुने बताइएको छ।