रवि लामिछानेमाथि निष्पक्ष छानविन गर्नुपर्छ:अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ पर्नु सही भएको बताएको छ । पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आइतबार विज्ञप्ति जारी गरी विभिन्न सहकारीको रकम अपचलनमा नाम जोडिएकाले रविमाथि अनुसन्धान हुनु गलत नभएको बताएका हुन् ।

अध्यक्ष केसीले विज्ञप्तिमा भनेका छन्,सहकारी ठगीमा रवि लामिछानेमाथि अनुसन्धान गर्न गरिएको गिरफ्तारी सामान्यतया सही नै छ । रविमाथि कुनै राजनीतिक पूर्वाग्रहका आधारमा नभएर सत्य र तथ्यको आधारमा निष्पक्ष छानबिन गरेर कारबाही गरिनु पर्दछ।

रविमाथि अनुसन्धान गर्न राष्ट्रिय जनमोर्चाले सदन तथा सडकमा निरन्तर आवाज उठाएको तर तत्कालीन माओवादी–एमाले गठबन्धन सरकारले उनलाई जोगाउन कानुनकै धज्जी उडाएको केसीले बताएका छन्।

सहकारी राष्ट्रिय समस्या भएको भन्दै राष्ट्रिय जनमोर्चाले यो समस्या समाधान गर्न सहकारीलाई नियमन गर्ने संयन्त्र बनाउन माग गरेको छ।