सरकार आफ्नालाई बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लाग्यो: अध्यक्ष प्रचण्ड

फाइल तस्बिर

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार प्रतिद्वन्द्वीलाई खोजीखोजी फसाउने खेलमा लागेको टिप्पणी गरेका छन् ।

माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकार आफ्नालाई बचाउने र प्रतिद्धन्द्धीलाई हान्ने खेलमा लागेको बताएका हुन्।

उनले भने,हामीले के माओवादी, के कांग्रेस, के एमाले कुनै दल नहेरेर गल्ती गरेको छ भने सबैलाई कानुनबमोजिम ल्याउनुपर्छ भनेर लाग्यौं।

तर अहिलेको सरकार कांग्रेस र एमालेका नेताले गल्ती गरेको छ्याङ्गै देख्दा पनि बचाउनतिर लाग्यो। आफ्नो राजनीतिक प्रतिद्वन्द्वी देखेपछि खोजीखोजी हान्नथालेको छ।

आफ्नो नेतृत्वको सरकारले सुशासनका पक्षमा कसैको दल र अनुहार नहेरेर कारवाही गरेको तर अहिलेको सरकार प्रतिद्वन्द्वीलाई मात्रै प्रहार गर्ने गरी अघि बढेको उनको भनाई छ।

प्रचण्डले सरकारले गर्नुपर्ने काम नगरेको तर गर्न नहुने काममा बढी ध्यान दिएको आरोप लगाए।

भ्रष्टाचारीलाई बचाउन नयाँ समीकरण बनेको जनताले राम्ररी बुझेको उल्लेख गर्दै प्रचण्डले अब सरकारका गलत कार्यको भण्डाफोर गर्दै लैजानुपर्नेमा जोड दिए।