भीम रावलसहित तीन नेतालाई ७ दिनभित्र स्पष्टीकरण दिन एमालेले पठायो पत्र

काठमाडौं । नेकपा (एमाले)ले पार्टी केन्द्रीय भवन दानमा स्वीकार्ने निर्णयविपरीत बोल्ने पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई स्पष्टीकरणपत्र पठाएको छ।

महासचिव शंकर पोखरेलले ७ दिनभित्र लिखित जवाफ पेश गर्न स्पष्टीकरण पत्र पठाएका हुन्।

आइतबार साँझ बसेको सचिवालय बैठकले पूर्वउपाध्यक्ष रावल, पाण्डे र तिमिल्सिनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

‘विधानको धारा ८१ बमोजिमको कारबाही किन गर्नु नपर्ने हो ? सोको आधार र कारण सहित सात दिनभित्र स्पष्टीकरण पेश गर्न अनुरोध छ’, स्पष्टीकरण पत्रमा भनिएको छ।

पाण्डे र तिमिल्सिनाले व्यवसायी मीनबहादुर गुरुङबाट दानमा केन्द्रीय कार्यालय स्वीकार्ने पार्टी निर्णयप्रति विमति जनाएका थिए।

पूर्वउपाध्यक्ष रावललाई भने यो निर्णय विपरीत बोल्ने मात्र नभएर विगत लामो समयदेखि अलग गतिविधि गरेको आरोप लगाइएको छ।