प्रतिनिधिसभा विघटनको खतरा बाँकी नै छ:उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मुलुकमा लोकतन्त्रमाथि विभिन्न कोणबाट आक्रमण भइरहेको बताएका छन्।

माओवादी केन्द्रले शनिबार काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीमार्गमा आयोजना गरेको खबरदारीसभामा बोल्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले विगतमा झैं प्रतिनिधिसभा विघटनको खतरा बाँकी नै रहेको पनि बताए ।

उनले भने, ‘आज विभिन्न कोणबाट झ आक्रमण भइरहेको छ । लोकतन्त्रमाथि प्रहार भइरहेको छ र अपरहण गर्ने कुचेष्टा जारी छ ।लोकतन्त्रमाथि प्रहार गर्नेहरूले असंवैधानिक रूपमा विगतमा प्रतिनिधिसभा विघटन गरेझैं त्यो खतरा अहिले पनि कायम रहेको उनले बताए ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले प्रतिनिधिसभा विघटनलगायतका कार्य हुनबाट रोक्नुपर्ने बताए। उनले समाजवाद उन्मुख समावेशीतालाई रक्षा गर्नुपर्ने पनि बताए ।राजनीतिक उपलब्धिसँगसँगै देशले आर्थिक विकास र समृद्धिको अपेक्षा गरेको उनको भनाइ थियो ।

‘शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नुपर्ने र त्यसका लागि माओवादी केन्द्रले सरकार, सदन र सडकको मोर्चालाई संयोजन गरेर राष्ट्रिय कार्यभार पूरा गर्न अगाडि बढ्नुपर्नेछ,’ उनले भने।