पर्यटनमा लगानीको वातावरण बनाउँछौं: मन्त्री पाण्डे

काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रमा नीतिगत र संरचनागत सुधारका लागि थुप्रै ऐनहरू संशोधनको गृहकार्य भइरहेको बताएका छन्।

गैरआवासीय नेपाली संघको आइतबारबाट सुरु वार्षिक साधारणसभाको दोस्रा दिन सोमबार राजधानीमा आयोजित ग्लोबल कन्केल्भ २०२४ लाई सम्बोधन गर्ने क्रममा मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

मन्त्री पाण्डेले पर्यटन क्षेत्रमा लगानीका लागि सरकारले सबै वातावरण बनाउने प्रतिबद्धता पनि जनाए । पर्यटन क्षेत्रमा लगानीको वातावरण हामीले बनाइदिन्छौँ।

संस्कृति र नागरिक उड्डयनको क्षेत्रमा सुधार गर्छौं। तपाईँहरूले सहयोग गर्नुहोस्। लगानीमैत्री वातावरणको भाष्य बनाउन जरुरी छ। देशभित्र र बाहिरका लगानीकर्तालाई वातावरण दिन जरुरी छ, उनले भने।

संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रमा नीतिगत हिसाबले सुधार गर्न कानुनका थुप्रै समसामयिक मस्यौदा तयार पारेको भन्दै संसद्को आगामी अधिवेशनबाट ऐन ल्याउने उनले बताए।

उनले नेपालको संस्कृति र प्रकृति सम्पदाले भरिपूर्ण रहेको र नागरिक उड्डययनका क्षेत्रमा समेत अनन्त सम्भावना रहेको मन्त्री पाण्डेले बताए। नेपाली आकाश सुरक्षित छ भन्ने देखाउनु छ।

ईयूले असुरक्षित भनेको छ। सुरक्षित, गतिशील, सुचारु आकाश देखाउन सक्यौँ भने देशभित्र र बाहिरका पर्यटक आउन सक्छन्,उनले भने।

पर्यटनको क्षेत्रमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता सरकारले बोध गरेको उनले बताए ।