सहकारी प्रकरणमा दोषी देखिएका सबैमाथि अनुसन्धान र कारवाही हुन्छ: ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारी प्रकरणमा दोषी देखिएका सबैमाथि अनुसन्धान र कारवाही हुने बताएका छन् ।

नेकपा एमाले ओखलढुङ्गा काठमाडौं सम्पर्क मञ्चले बिहीबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रसाद कार्यक्रममा पोखरेलले संसदीय छानविन समितिको प्रतिवेदन अनुसार सहकारी प्रकरणमा छवि र रविदेखि दोषी देखिएका सबैमाथि अनुसन्धान र कारवाही हुने बताएका हुन् ।

सबै दलका प्रतिनिधि रहेको संसदीय छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्दा सबैले स्वभाविक रुपमा लिनुपर्ने उनले बताए।

पोखरेलले सहकारी प्रकरणमा अनावश्यक विरोध प्रदर्शन र दोषारोपण गरेर अहिले मुलुकलाई अराजकतातर्फ लैजाने षड्‌यन्त्र भइरहेको धारणा समेत राखे। उनले अराजकताका विरुद्ध खबरदारी गर्न कार्यकर्तालाई आग्रह गरे ।

पोखरेलले पार्टी कार्यालय निर्माणका लागि एमाले निकट मीन बहादुर गुरुङले दिएको जग्गा पारदर्शी रुपमा पार्टीले ग्रहण गरेको र अपारदर्शी ढङ्गले कुनै काम नभएको दावी गरे ।

मीन बहादुर गुरुङ एमाले निकट भएकै उनले कारण २०६४ सालको संविधानसभा निर्वाचनमा एमालेका तर्फबाट समानुपातिक सदस्य बन्न प्रस्ताव गरेको उनले बताए ।

पोखरेलले कांग्रेस-एमालेबीचको सहकार्य आगामी चुनावसँग रहने र त्यसपछि पार्टी एक्लै चुनाव लड्ने जिकिर गरे ।

मुलुकमा सङ्कट देखा परेकाले ठूला दुई दल मिल्नु परेको भन्दै उनले कांग्रेस-एमालेको गठबन्धनलाई अन्यथा नलिन उनले आग्रह गरे।