विश्वकप लिग-२ : आज स्कटल्याण्डसँग नेपाल भिड्दै

काठमाडौं । आइसीसी त्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । यी दुईबीचको खेल डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा राति सवा १० बजे सुरु हुनेछ ।

सिरिज अन्तर्गतका चार खेलमध्ये नेपालले अमेरिकासँगका दुई खेल गुमाइसकेको छ । अमेरिकासँगको पहिलो खेल तीन विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ३७ रनले पराजित हुनपुग्यो ।

सिरिज अन्तर्गतको अघिल्लो प्रतिस्पर्धामा स्कटल्याण्डमाथि भने नेपालले पाँच विकेटको शानदार जित निकालेको छ ।

अघिल्लो खेलमा विजयी भएको नेपाल उच्च मनोबलका साथ आज मैदानमा हुनेछ । लिग–२ मा अंक बनाउन नेपालमाथि आजको खेल जित्नैपर्ने दबाब छ ।

चोटका कारण करण केसीले खेल गुमाउने सम्भावना छ । अलराउन्डर करण अमेरिकासँगको खेलका क्रममा घाइते भएका थिए । त्यसैले प्रशिक्षक मोन्टी देसाइले उनलाई आराम दिन सक्छन्।