३६४ दिन घरअगाडि फोहोरको डंगुर, एकदिन सफा गरेर घरधनीहरु देखाउँदै ढोंग
गाउँघरमा बस्नेहरुले दिनहुँ आफ्नो घर पोत्छन्। आफ्नो घरअगाडि आफैंले सफा गर्छन् । तर, काठमाडौं उपत्यकाबासीको घरबाहिर सरसफाइ गर्न वडाबाट कर्मचारी खटाउनुपर्छ । उपत्यकाबासी आफ्नो घरभित्रको फोहोरसमेत फुटपाथमा, सडक किनारमा ल्याएर फ्याक्छन् ।
यद्यपि,हिजो उपत्यकाभित्र फरक दृश्य देखियो । घरको गेटबाहिर कहिल्यै सफा नगर्नेहरु हिजो सडकसम्म पखालिरहेका थिए । फुटपाथ पनि सफासुग्घर पारिरहेका थिए।
नेपालीको दोस्रो ठूलो महान् चाड तिहारको सबैभन्दा महत्वपूर्ण दिन भएकाले घर वरपर सफा गरिएको हो ।
नत्र त अन्य दिन त्यही ल्याएर फोहोर फ्याक्छन् ।
उपत्यकाभित्रका अधिकांश घर सडक वा फुटपाथसँग जोडिएको छ । बाहिरी जिल्लाको सदरमुकाममा भएका घरहरु पनि त्यस्तै छ । अघिपछि सफा नगर्ने घरधनीहरुले हिजो सडकसम्म पानीले पखालिरहेका देख्दा धेरैले आश्चर्यचकित मानिरहेका थिए ।
सडक सफा राख्नुपर्छ भन्ने मनशायले हिजो कसैले पनि सफा गरेका होइनन् । रंगोली बनाएर फेसबुकमा तस्बिर पोस्ट गर्नुपर्ने भएकाले उनीहरुले सडक गरेका हुन् । ३६५ दिनमा ३६४ दिन सडकतर्फ फर्केर पनि नहेर्नेहरुले हिजो सडक सफा गर्दा धेरैले आश्चर्य मान्नु स्वभाविकै पनि हो ।
वर्षौंभरी आफ्नो घरको ढोकाअगाडि फोहोर गर्छन् । माथिबाट फोहोर सिँधै सडकमा फ्याकिदिन्छन् । सडक दुर्गन्धित बनाएर बाटो हिँड्नेलाई समस्यामा पारिदिन्छन् । नगरपालिकाबाट फोहोर उठाउन नआएसम्म सडकमै फोहोर थुप्रिरहन्छ । अन्यलाई रोगी बनाउँछन्, घरधनीहरु ।
आफ्नो घरअगाडि सफा गर्नु आफ्नै दायित्व हो । तर, घरधनीहरु त्यो सोच्दैनन् । बरु आफैं दुर्गन्धित बनाएर अरुलाई समस्यामा पार्छन् । एकदिन सडक सफा गरेर केही हुँदैन् ।
दिनहुँ गर्नुपर्छ । उपत्यकाबासी शिक्षित छन् । शहर सरसफाइ गर्नुपर्छ भन्ने उनीहरुलाई थाहा छ । फोहोरले रोग लाग्छ भन्ने पनि राम्ररी बुझेका छन् ।
तर, सरसफाइमा उनीहरुलाई चासो छैन् । उल्टै फोहोर पारिदिन्छन् । उपत्यकाबासी व्यक्तिगत स्वार्थमा मात्र रमाउने भए । आफूलाई नपर्दासम्म केही नगर्ने । उपत्यकाबासी बिहान जुरुक्क उठ्छन् अनि मर्निङ वाकमा निस्किन्छन् । काम गर्ने हो भने मर्निङ वाकमा जानै पर्दैन् ।
हिजो कतिपय मर्निङ वाकमा नगईकन घर सफा गर्न लागिपरेका थिए । अन्य दिन पनि त्यसै गरिदिए उपत्यका सफा हुने थियो । सरसफाइको लागि स्थानीय सरकार नै कुर्नुपर्छ भन्ने छैन् । आफैंले गर्दा हुन्छ । विडम्बना, त्यस्तो सोच भएका कोही छैनन् । हामीले फोहोर उठाउन कर तिरेका छौं, सडक सफा दायित्व सरकारको हो भन्छन् ।
एकछिन समय निकालेर सफा गर्दा आफ्नो घर वरपर पनि सुन्दर देखिन्छ, यता हिँड्नेलाई पनि सहज हुन्छ । तर, त्यस्तो कसले सोच्ने ? उपत्यकाभित्र एक आनादेखि चार आनासम्म जग्गामा घर बनेका छन् । कतै खाली ठाउँ छोडिएको छैन् । हरियालीको नामोनिशान छैन् । यहाँका घरधनीको खेतबारी छैन्।
आम्दानीको स्रोत घर भाडा हो । एउटा कोठाको ठाउँ हेरेर पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म असुल्छन् । एक फ्ल्याटको २० हजारदेखि लाखसम्म लिन्छन् । खाली सटर २० लाखदेखि ५० लाखसम्म खरिदबिक्री हुन्छ । सटर भाडा १५ हजारदेखि लाखौंसम्म छ । घरधनीहरु कोठा भाडामा लगाएर पैसा असुल्ने तर फोहोर व्यवस्थापन नगर्ने ।
जेपनि सरकारले गरिदिनुपर्ने । उपत्यकाबासी आफूलाई सुकिलामुकिला ठान्छन् । यिनीहरुलाई कुन आधारमा सुकिलामुकिला भन्ने ? नयाँ–नयाँ फेशन फेर्दैमा सुकिलामुकिला बनिन्छ ? उपत्यकाबासीले फोहोर गर्छन् । त्यो फोहोर नुवाकोटस्थित बञ्चरेडाँडामा लगेर फ्याकिन्छ । त्यहाँको स्थानीयको अवस्था उपत्यकाबासीले बुझेका छन् ?
त्यहाँको उर्बरा भूमि मरुभूमि बनिसकेको छ । खोलानाला प्रदूषित भएको छ । बस्न नसक्ने अवस्था छ । विभिन्न रोग फैलिरहेको छ । सरकारले बारम्बार फोहोरको वर्गीकरण गर्न आग्रह गरिरहेको छ । तर, उपत्यकाबासी टेर्दैनन् । भात, प्लास्टिक, प्याड सबै एउटै पोको पारेर सडकमा फ्याकिदिन्छन्।
यस्तो फोहोरका कारण उपत्यकाभित्रै बस्नेहरु पनि रोगी बनिरहेका छन् । उता, खोलानालामा फोहोर फ्याँक्दा पानी कालो भएको छ । जथाभावी फोहोर फाल्नेलाई कुन मुखले शिक्षित भन्ने ? पढ्दैमा शिक्षित हुँदैन् । पढेको कुरा व्यवहारमा पनि उतार्नुपर्छ । मुखले आफूलाई सफासुग्घर भन्ने तर व्यवहारमा ठ्याक्कै उल्टो ?
अन्य मुलुकले फोहोरलाई मोहोर बनाइरहेको छन् । त्यहाँका नागरिकहरुले फोहोरलाई वर्गीकरण गरेर सरकारलाई सहयोग गरिरहेका छन् । तर, यहाँ त पटकपटक आग्रह गर्दा पनि टेर्ने होइनन् ? आफ्नो कारणले अरुलाई असर पुगेको छ कि ? भन्ने उपत्यकाबासी सोच्दैनन् ।
हामीले गरेको फोहोरका कारण लाखौंको जीवन मुश्किल बनेको छ । उनीहरु आफ्नो घरखेत छोडेर हिँड्नुपर्ने अवस्था आएको छ । यस्तो हुँदासम्म पनि उपत्यकाबासीको चेत नखुले कहिले खुल्ने ? सरकारले पनि जनतामाथि विभेद गरिरहेको छ। उपत्यकाको जनतालाई रोगबाट बचाउन नुवाकोटबासीलाई रोगी बनाउने काम सरकारबाट भएको छ ।
सरकारले उपत्यकाबासीलाई मात्र जनता ठान्दा नुवाकोटबासीले ठूलो मूल्य चुकाउनुपरेको छ । नुवाकोटमा बाटो बनाइदिन्छौं, रोजगारी दिन्छौं भनेर सरकारले त्यहाँको जनतालाई रोगीचाँहि बनायो । नुवाकोट आज फोहोर फाल्ने डम्पिङ साइट बनेको छ । यो क्रम कहिलेसम्म चल्ने हो ? भन्न सकिन्न ।
रोजगारी र बाटोको प्रलोभन नुवाकोटका स्थानीयलाई भारी परेको छ । मेलम्चीका स्थानीयले पनि अहिलेसम्म सरकारको रणनीति बुझेका छैनन् । आफ्नो खेतबारी बाँझो राखेर, वस्तुभाउलाई पानी खान नदिएर मेलम्चीको पानी काठमाडौं पठाइरहेका छन् । तर, उनीहरुले यसबाट केही पाउनेवाला छैनन्।
आफ्नो जिल्लाभित्रको पानीमा उनीहरुको पहिलो अधिकार लाग्छ । काठमाडौंभित्र पनि यत्रा खोलानाला छन् । तर, सबै दुर्गन्धित बनाइहाले ।
त्यसैले यहाँ पानीको हाहाकार भएको छ। बेलैमा नीति बनाएर अघि बढेको भए यो अवस्था नै आउँदैन्थ्यो। अरुमाथि दमन गर्न जानेका उपत्यकाबासीलाई सडक सफा गर्न लाज लाग्छ ।
यद्यपि, भाडामा बस्नेलाई ठग्न र राज्यलाई घरबहाल कर छल्नचाँहि यिनीहरुलाई लाज लाग्दैन् । सरकारले उपत्यकाबासीलाई मात्र जनता सोचेको छ । बाहिरी जिल्लाका जनतामाथि सँधै सरकारले विभेद गरेको छ । उपत्यकाबाहिर न स्वास्थ्य छ न शिक्षा । न त उनीहरुले रोजगारी नै पाएका छन् ।
उपत्यकाबाहेक ७४ जिल्लाका जनतालाई सरकारले जनता नै सोच्दैन् । हरेक क्षेत्रमा उनीहरुलाई पछाडि पारिएको छ । यी जिल्लाका सांसदहरु सदनमा ताली मात्र पिट्छन् । आफ्नो जिल्लाका स्थानीयको आवाज उठाउन सक्दैनन् । ताली पिट्ने, तलब खाने र सेवासुविधा लिनबाहेक सांसदहरुले जानेनन् ।
७७ जिल्लाका जनताले तिरेको कर र विदेशीबाट लिएको ऋण सरकारले उपत्यकाभित्र खन्यायो । उपत्यकाभित्र मात्र विकास गरियो । त्यसैले उपत्यकाबासीलाई मात लाग्यो । घरअगाडि पनि कर्मचारी खटाएर कुचो लगाइदिने । गाउँमा चाँहि बिरामी बोक्न एउटा एम्बुलेन्स पनि नदिने ।
उपत्यकाबासीलाई सेवासुविधाको खातैखात, बाहिरी जिल्लाका जनताको सँधै पुर्पुरोमा हात । बाहिरी जिल्लामा पुल बनाउन पैसा नभएको सरकारले उपत्यकाभित्र चाँहि गेटभित्रसम्म पिच गरिदिएको छ।