उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन कांग्रेसले तोक्यो नेताको जिम्मेवारी

काठमाडौं। आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन नेपाली कांग्रेसले नेताहरूको जिम्मेवारी तोकेको छ ।

बुधबार केन्द्रीय पार्टी कार्यालय सानेपामा बसेको पार्टीको स्थानीय तह उपनिर्वाचन केन्द्रिय संयोजन समितिको बैठकले पार्टीका उम्मेदवारलाई विजयी गराउन नेताहरूको जिम्मेवारी तोकेको हो।

कांग्रेस केन्द्रीय पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकले उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन प्रदेश, जिल्ला र स्थानीय कार्यसमितिसँग आवश्यक, समन्वय र सहजीकरण गर्न बैठकले जिम्मेवारी तोकेको बताए।

उनका अनुसार बैठकले महालक्ष्मी उपाध्याय ‘डिना’ बागमती प्रदेश, भीष्मराज आङ्दम्बे कोशी प्रदेश, महेन्द्र यादव मधेस प्रदेश, जीवन परियार कर्णाली प्रदेश र गण्डकी प्रदेश, डा. प्रकाशशरण महत अन्तर पार्टी समन्वय, एनपी साउँद सुदूरपश्चिम प्रदेश, पुष्पा भुसाल लुम्बिनी प्रदेश एवं निर्वाचन आयोग समन्वय, मीन विश्वकर्मा प्रचार प्रसार संयोजन, मधु आचार्य स्थानीय तह समन्वय र नानु बाँस्तोलालाई सचिवालय व्यवस्थापनको जिम्मेवारी तोकेको छ।

बैठकले उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन सम्पूर्ण एकता, शालीनता र सक्रियताका साथ अघि बढ्ने निर्णय पनि गरेको छ।