काठमाडौंबाट पूर्वमन्त्री दीपक मनाङे पक्राउ

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङे पक्राउ परेका छन्। उनलाई आज बिहान राजधानीको सानोभ¥याङबाट प्रहरीले पक्राउ गरेको हो।

ज्यानमार्ने उद्योगमा अदालतले दोषी ठहर गरेपछि मनाङेविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। त्यसपछि प्रहरीले खोजिरहेको थियो । दीपक मनाङेको समूहले ०६१ सालमा मिलन चक्रमाथि तरबार हानेका थिए ।

उक्त घटनालाई लिएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङे समूहविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्दै मनाङेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दियो ।

त्यो फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत पाटन गएको थियो ।

अदालतले ०६९ मा ज्यान मार्ने उद्योग (प्रयास)गरेको ठहर गर्दै मनाङेलाई ५ वर्ष जेल सजाय सुनाएको थियो । सरकारी वकिलको कार्यालय मनाङे बाहेकका चार जनालाई पनि सजाय माग गर्दै सर्वोच्च गएको थियो ।

त्यही मुद्दामा २०७५ सालमा न्यायाधीश दीपकराज जोशी र पुरुषोतम भण्डारीको संयुक्त इजलासले पुनरावेदनकै फैसला सदर गरेको थियो ।

तत्कालीन पुनरावेदन अदालत पाटनले ५ वर्ष कैद सजाय सुनाएपछि मनाङे पक्राउ परेका थिए । तर १० वर्ष भन्दा कम जेल सजाय भएको मुद्दामा जेलबाहिर रहेर पुर्पक्ष गर्न पाइने कानुनी व्यवस्था अनुसार उनी रिहा भएका थिए ।

सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै अवस्थामा मनाङले मनाङबाट दुई कार्यकाल गण्डकी प्रदेशसभा सदस्य चुनिए भने पटक–पटक मन्त्री बनेका थिए । तर, पछिल्लो समले उनले मन्त्री पदबाट राजीनामा दिएर बसेको थिए।