करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु

सांकेतिक तस्बिर

काठमाडौं। करेन्ट लगाइ माछा मार्ने क्रममा दाङको तुलसीपुरका एक जनाको मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका – ७ गैरापातु अमेल्चिनगर टोलका अन्दाजी ४० बर्षीय सम्शेर चलाउनेको करेन्ट लगाइ माछा मार्ने क्रममा मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार मंगलबार बेलुका पौने ७ बजेतिर स्थानीय भजना खोला किनारमा उनी मृत अवस्थामा फेला परेको भन्ने सूचना प्राप्त भएको थियो।

सूचनापछि प्रहरी निरीक्षक थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले स्थानीय कमला विकको घरबाट विद्युतको तार १०० मिटर टाढोको खोलामा लगेको अवस्थामा फेला पारेको थियो।

प्रहरीले घटना अनुसन्धानका लागि स्थानीय तीन जनालाई नियन्त्रणमा लिएको छ।

स्थानीय ४५ वर्षीय बलबहादुर बोहरा, ६२ वर्षीय गोरे वली र १२ वर्षीय सञ्तोष विकलाई घटना अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक थापाले बताए।

घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ।