रूपन्देहीमा आज पनि रविसँग बयान लिइँदै

काठमाडौं । प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेसँग आज पनि बयान लिइँदैछ । सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि रुपन्देही ल्याइएका लामिछानेसँग आज पनि सरकारी वकिलको कार्यालयमा बयान लिइँदैछ ।

यसअघि मंगलबार दिउँसो १ बजेपछि सुरु भएको बयान साँझ ५ः ४५ बजेसम्म चलेको थियो । तर, बयान नसकिएकाले आज पनि उनीसँग बयान लिइने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिए ।

उनका अनुसार आज कार्यालय समय सुरु भएसँगै बयान लिने काम सुरु हुनेछ ।

सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका लामिछानेलाई मंगलबार दिउँसो पोखराबाट भैरहवा ल्याइएको थियो । प्रहरीले उनलाई विमानस्थलबाट सोझै सरकारी वकिलको कार्यालय वयानका लागि लगेको थियो ।

गत कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पटकपटक म्याद थप गराउँदै कास्की प्रहरीले सहकारीको रकम अपचलनमा अनुसन्धान गरिरहेको छ।

सोही प्रकरणमा उनलाई मंगलबार रुपन्देही लगिएको हो। सभापति पक्राउ परेपछि रास्वपाले पहिलो दिनदेखि नै सरकारविरुद्ध प्रदर्शन गर्दै आइरहेको छ।