जापानबाट डिपोर्ट प्रकरण: पक्राउ पर्नेको संख्या ९ पुग्यो
काठमाडौं । जापानबाट डिपोर्ट भएकाहरुको नक्कली कागजात बनाइदिने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले काठमाडौँबाट थप दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खोटाङ घर भएका ४१ वर्षीय नवीन राई र ३२ वर्षीया गुड्डी राई रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
उनीहरुलाई बागबजारबाट पक्राउ गरिएको अधिकारीले बताए । कोसी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी जोडिएको मानव तस्करी प्रकरणमा संलग्न भएको आरोपमा अहिलेसम्म पक्राउ पर्नेको सङ्ख्या नौ पुगेको छ ।
उक्त प्रकरणमा कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो ।
मंगलबार पक्राउ परेका नवीन राई र गुड्डी राईले बागबजारमा खोटाङस्थित ऐशेलुखर्क गाउँपालिका–२ को वडा सदस्य र कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ‘सहायक’ को परिचयपत्र बनाइ दिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।