घरघरमा बालश्रम, सरकार कहाँ छ ?

नेपाललाई बालश्रममुक्त देश घोषणा गरिएको छ । बालश्रम गराउने जोकोहीलाई कडा कारबाही हुने हाम्रो कानूनमा व्यवस्था छ । सरकारले १८ वर्षमुनि बालबालिकालाई जोखिमपूर्ण श्रमलाई लगाउन नपाउने भन्दै कानून निर्माण गरेको छ । विडम्बना, हामी कहाँ अहिले पनि बालश्रम कायमै छ ।

सरकार कानून बनाउँछ, तर अनुगमन गर्दैन । अनि कसरी नेपाल बालश्रममुक्त राष्ट्र भयो ? काठमाडौं नेपालको राजधानी हो । अन्य जिल्लाभन्दा विकास निर्माणसँगै शिक्षा, स्वास्थ्य, सचेतनाको हिसाबले काठमाडौंलाई अघि मानिने गरिएको छ। दुर्भाग्यको कुरा के छ भने राजधानीमै बालश्रम भइरहेको छ।

अहिले उपत्यकासहित देशभर नै उमेर नपुगेका बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाएको भेटिन्छ। हुने खानेहरुले गरिब, निमुखाका छोराछोरीहरुलाई खानाकै घरमा दिनभर काम लगाउँछन्।

काम नगरेमा कुटपिटसँगै विभिन्न यातना दिइन्छ । यतिसम्म कि बेसाहारा बालबालिकालाई पाल्ने आश्वासनमा आफ्नो घरमा दिनरात काममा लगाइन्छ ।
बालिका, किशोरी भएमा त यौनधन्दा समेत लगाएको पाइन्छ ।

अनि गर्न नमानेमा घरमै बन्धकी बनाएर राख्ने, मानसिक र शारीरिक यातना दिनेजस्ता कार्य गरिन्छ । अहिले पनि होटल, रेस्टुरेन्ट, गेस्ट हाउस, यातायात क्षेत्रलगायतमा ६ वर्षदेखि १८ वर्ष नपुगेका बालबालिका काम गरिरहेको भेटिन्छन् ।

त्यो पनि बिहान–बेलुकाकै खानाको भरमा । गरिबका छोराछोरी आफ्नो पेट पाल्नकै निम्ति दिनरात नभनी सानै उमेरमा काम गर्न बाध्य भएका छन् । अनि कहाँ छ सरकार ? सरकार हरेक निःशुल्क शिक्षाको रटान लगाउँछ । तर, हामी कहाँ बालबालिका विद्यालयमा कम होटल, रेस्टुरेन्टमा बढी फेला पर्छन् ।

सानै उमेरमा काम गर्ने रहर कसैमा हुदैँन । यद्यपि, बाध्यता परेपछि के गर्नु ? आमाबुबा नभएपछि वा गरिबीका कारण उमेर नपुग्दै बालबालिकाहरु श्रमिक बन्ने गरेका छन् । अनि उनीहरुको मजबुरीको फाइदा सीमित व्यक्तिहरु उठाउँछन् । उद्योग, कलकारखानामा अहिले पनि दश वर्ष समेत नपुगेका बालबालिका काम गरेको भेटिन्छन् ।

ठुलो मान्छेले बोक्न नसक्ने बारी उनीहरु बोक्छन् । पसिना निकालेर दिनरात नै काम गर्छन् । तर, उनीहरुलाई नै साहुले शोषण गर्छन् । दिनरात काम लगाएपनि तलब गर्दैनन् । साहुविरुद्ध बोलेमा फेरि काम नै गुम्ने डर उनीहरुलाई हुन्छ । अहिले उपत्यकाका धेरै घरहरुमा बालबालिकाहरु नै श्रममा भेटिन्छन् । यहाँका घरधनीहरुले गाउँका गरिब परिवारका छोराछोरी आफ्नो घर ल्याएर दिनरात काममा लगाएको छ ।

घरधनीका छोराछोरीहरु महँगा बोर्डिङ स्कुल जान्छन् । अनि गरिबलाई छोराछोरीलाई भने तिनका बालबच्चाको झोला बोक्न लगाइन्छ । भाँडा माझ्नेदेखि घर सफा गर्ने, पुछ्ने, लुगा धुने, खाना पकाउने सबै काम लगाइन्छ । उनीहरुलाई शिक्षा दिइदैँन। न त तलब नै दिइन्छ । बिहान–बेलुकाको भातकै भरमा दिनरात काममा खटाइन्छ ।

यतिसम्म कि आफु कुकुर पाल्छन् । अनि दिसापिसाब सोहर्न भने त्यो बालबालिकालाई लगाउँछन् । यता, उमेर पुगेका महिला तथा बुढाबुढीलाई समेत मासिक तीन हजारदेखि पाँच हजार रुपैयाँ तलबमा दिनभर काम लगाइन्छ । न खाना दिइन्छ न बस्न नै । अनि काम चाँहि थोरै तलबमा लगाउनु लगाइन्छ ।

आफ्नो भित्री कपडा समेत धुन लगाउँछन् । आफुले खाएको भाडा, लगाएको कपडा धुदैँनन् । आफुले फोहोर पारेको शौचालय आफैं सफा गर्न सक्दैनन् । तर, शनिबार चाँहि कुचो बोकेर, हातमा पन्जा, मुखमा मास्क अनि टाउकोमा क्याप लगाएर नदीनाला र बाटो सफा गर्न निस्किछन् । त्यो पनि जनताले तिरेको करबाट किनिएको ।

आफ्नो घर सफा गर्न नसक्नेले नदीनाला र बाटो सफा गरेको सुहाउँछ ? यहाँसम्म कि सामान खरिदमा पनि भ्रष्टाचार गरिन्छ। एक सयको कुचो किनेर पाँच सयको बिल बनाउँछन् । सरसफाई गर्न आवश्यक हरेक सामग्रीमा कमिशन खान्छन् । अनि आफ्नो घरतिर लैजान्छन् । सफा गर्ने नाममा चर्चामा आउने काम मात्र गरिन्छ ।

कुचो बोकेर फोटो खिचेर फेसबुकमा हालिन्छ । अनि सरसफाई कार्यक्रम लेखिन्छ । यस्ता पनि व्यक्ति हुन्छन् है ? देखाउने दाँत एउटा, चपाउने दाँत अर्को । आफ्नो घरमा बालश्रम, श्रम शोषण गरिन्छ । अनि बाहिर आएर देशको सेवा गरेको देखाइन्छ । नौंटकी पनि कति जानेको होला । फेरि अघिपछि आफ्नो घरको फोहोर बाटोमा ल्याएर फाल्छन् ।

घरको छतमा ठुल्ठुला गमला राख्छन् । तर, त्यो गमला खसेमा बाटोमा हिँड्ने मानिस घाइते हुन्छन् भनेर सोच्दैनन् । वर्षा भएपछि छतमा जमेको पानी माथिबाटै फालिन्छ । त्यसबाट बाटोमा हिँड्ने मानिसलाई समस्या हुन्छ भनेर सोच्दैनन् । २०७० जेठ ५ गतेदेखि बागमती नदी सरसफाई अभियान सञ्चालन भइरहेको छ ।

यसबीचमा सरसफाईको नाममा जनताले तिरेको अर्बौ रकम सकिएको छ । तर, बागमती पहिल्यैभन्दा झन फोहोर र दुर्गन्धित बनेको छ । घुम्न हिँडेझैं चिटिक्क परेर उपत्यकाका हुनेखानेहरु हरेक शनिबार बागमती पुग्ने गरेका छन् । तैपनि सरसफाई गर्न । उनीहरु दिनभर सफाईको नाममा एकअर्काको फोटो खिच्छन् अनि फेसबुकमा हाल्छन् ।

अनि यस्तो पाराले पनि बागमती सरसफाई हुन्छ ? यीनीहरुले गरिब, निमुखालाई त ठगी नै रहेका छन् तर जनताले रगतपसिना बगाई कमाएर तिरेको करमा पनि मोजमस्ती गरिरहेका छन् । अझ सरकार पनि यस्तालाई नै सम्मान गर्छ । अहिले पनि शोषक, सामन्तीहरुले गरिब, अशिक्षितलाई शोषण र ठग्न छोडेका छन् ।

सेवा गर्ने नाममा उनीहरुको भ्रष्टाचार जारी नै छ । अहिले उपत्यकाभित्र तथा बाहिरी जिल्लाका घरधनीहरुको सम्पत्ति छानबिन गरेमा प्रायजसो भ्रष्टाचारी भेटिन्छन् । उनीहरु लुटेका छन् । सोझासाझा जनता र राज्य दुवैलाई । गरिबका छोराछोरीलाई श्रम शोषण गरेका छन् । जनताबाट चर्को भाडा असुलेका छन् अनि राज्यलाई राजस्व छलेका छन् ।

गरिबका छोराछोरीलाई पढाउने प्रलोभनमा ल्याएर दिनरात खाना समेत खान नदिई काम लगाउँछन् । अनि आफु चाँहि मोटाएर हात्ती जत्रो भएपछि बिहान मर्निङ वाकमा हिँड्छन् । यहाँ राजनीतिक दलका नेतादेखि कार्यकर्ता, सरकारी कर्मचारीहरुले समेत यस्तो गरिरहेको भेटिन्छ । गरिब, निमुखाका बालबच्चालाई पढाइदिने नाममा दिनरात काम दलाएका छन् ।

फेरि यीनीहरु नै बालश्रम, श्रम शोषणविरुद्ध लामो चौडा भाषण ठोक्छन् । सरकारले यस्ता व्यक्तिलाई कानूनी कारबाही गर्नुपर्छ। बालश्रममुक्त राष्ट्र घोषणा मात्र गर्ने होइन, कार्यान्वयन पनि गर्ने हो । गरिबको रगतपसिनामा कसैलाई पनि मोजमस्ती गर्ने अधिकार छैन । यस्ता शोषक, सामान्तीहरुलाई जेल कोच्न अब ढिलो गर्नुहुन्न ।