काम गर्न नसकेपछि सडकमा मान्छे उतार्दै सत्तापक्ष, टुलुटुल रमिता हेर्दै प्रतिपक्ष
अनुसा थापा
सरकारले जनतालाई डेलिभरी दिन सकेन्, सुशासन कायम गर्न सकेन्, भ्रष्टाचार गर्यो, ऐनकानुन बनाउन सकेन्, कालोबजारी नियन्त्रणमा निरीह रह्यो भने विपक्षी दलले सदन र सडक संघर्ष गर्ने हो । सदन र सडक सँधै विपक्षी दलको हुन्छ । विपक्षी दलले सदन र सडकबाट सरकारको ध्यानाकर्षण गराउने हो ।
अहिले विपक्षी दलमा राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’, नेकपा एकीकृत समाजवादी पार्टी छ । २०४८ सालभन्दा पछाडिको विपक्षी दल एकदमै कमजोर देखिन्छन् । न सदनमा आवाज उठाउन सक्छन् न सडकमा । उनीहरु नाम मात्रको विपक्षी बनेका छन् ।
संसद् स्थगित भएको झण्डै तीन महिना हुन लाग्यो । तर, विपक्षी दलहरु सदन चलाउन माग गर्दैनन् । सत्तापक्षले जे भन्यो, त्यसैमा प्रतिपक्ष टाउको हल्लाउँछन् । सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली विपक्षी दललाई गन्दै गन्दैनन् । किन कि उनले विपक्षी दलको मुटु छामिसकेका छन् ।
देश र जनताका लागि विपक्षीले केही गर्न सक्दैनन् भन्ने उनले बुझिसकेका छन् । ओली सरकार बनेको चार महिना भयो । तर, यो अवधिमा एउटा सिन्को भाँच्ने कामसमेत भएन् । सरकार पूर्ण रुपमा असफल देखिसकेको छ । सरकार नाम मात्रको सरकार भएको छ । हामी प्रधानमन्त्री र मन्त्री भन्दै ‘दिन कटाउने र माना पचाउने’ काम मात्र भयो ।
हरेक नागरिकको जनजिब्रोमा देशको अर्थतन्त्र डामाडोल छ भन्ने छ । सरकारले उनीहरुमा नयाँ आशा पनि ल्याउन सकेन् । न कालोबजारी रोक्न सक्यो । न लामो समयदेखि कायम यातायातको सिण्डिकेट तोड्न सरकार सफल रह्यो । मँहगी बढेर जनताको ढाड सेकिएको छ । व्यापार व्यवसाय सुकेको छ ।
वैदेशिक रोजगारीका लागि विदेशिनेको संख्या बढेको बढ्यै छ । तैपनि सरकारलाई चासो छैन् । सरकार जनताप्रति अलिकति पनि जिम्मेवार देखिँदैन् । आफ्नो कुर्सी टिकाउनमै सरकार व्यस्त छ भने सरकारप्रति जनता आक्रोशित छन् । सत्तापक्ष होस् या विपक्ष पछिल्लो समय उनीहरुको व्यापक विरोध भइरहेको छ ।
सत्तापक्ष काम गर्न सक्दैन्, विपक्षी आवाज उठाउन सक्दैन् । आन्दोलन गर्ने, सरकारको विरोध गर्ने विपक्षीले भएपनि सत्तापक्षले यो काम गर्दैछ । एउटा चर्चित उखान छ,‘कहीँ नभएको जात्रा हाडीँगाऊँमा ।’ त्यहीँ दृश्य अहिले राजनीतिक पार्टीहरुमा देखिएको छ । सत्तापक्षले मंसिर ७ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ ।
नेकपा एमालेले एक लाख मान्छे उतार्ने घोषणा गरेको छ । सत्तापक्षले सडकमा मान्छे उतार्दा सर्वसाधारणले के सोच्छन् ? आफैं सरकारमा बस्ने, काम गर्न नसक्ने अनि सडक आन्दोलन गर्ने । सडक आन्दोलन कसको ध्यानाकर्षण गराउन ? किन कि अहिले सरकारको नेतृत्व त एमालेले नै गरिरहेको छ ।
काम गर्न नसकेपछि चर्चामा आउने एउटै माध्यम आन्दोलन बनेको छ । मुलुक कुन गतिमा छ ? यो हरेक नागरिकलाई थाहा भइसकेको छ । व्यापार व्यवसाय ठप्प हुँदा व्यापारीहरु विदेश जाने सोचमा छन् । कोठा फल्याट जताततै खाली देखिन्छ । सर्वसाधारणले रोजगारी पाइराखेका छैनन् ।
यस्तोमा काम गरेर समस्या समाधान गर्नुको साटो सत्तापक्ष सडकमा उत्रिँदै छ । यो भन्दा हाँसोलाग्दो कुरा के होला ? माओवादी अध्यक्ष पुष्पकमल दाहालले १० वर्ष जनयुद्धको नेतृत्व गरे । तीन चोटि त उनी प्रधानमन्त्री बने । त्यत्रो जनयुद्धको कमाण्डर गरेको व्यक्ति अहिले सत्तापक्षको अगाडि निरीह छन् ।
माओवादीबाटै अर्का नेता डा बाबुराम भट्टराई प्रधानमन्त्री बने । तर, उनीले पनि केही उखालेनन् । चार चोटि प्रधानमन्त्री पाएको व्यक्तिले यातायातमा भएको सिण्डिकेट त हटाउन सकेन् भने अरु के गर्छ ? वास्तवमा भन्ने हो भने देश र जनताका लागि कोही पनि प्रधानमन्त्री बनेको होइन् ।
आफ्नो व्यक्तिगत स्वार्थका लागि उनीहरु नेता भएका हुन् । काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रचण्ड, केपी शर्मा ओली, समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल बारम्बार प्रधानमन्त्री भए । पदमा गए, आफूलाई देशको प्रधानमन्त्री भने, सकियो । देश लथालिङ्ग बनाएर आफूलाई नेता भन्न यिनीहरुलाई लाज लाग्नुपर्ने हो ।
मुलुकको अवस्था नाजुक बनिसकेको छ, अब पनि जनताको आँखा नखुले कहिले खुल्ने ? अब कार्यकर्ता होइन्, देशलाई जनताको खाँचो परेको छ । जनता कार्यकर्ता बनेकै कारण नेताहरुले आफ्नो मनोमानी चलाए । देशलाई आफ्नो निजी सम्पत्तिझैं गरे । यत्रो प्रधानमन्त्री आए र गए, तर कसैले जनताको समस्या बmुझ्न चाहेनन् ।
देश कहाँ छ ? जनता कहाँ छन् ? सरकारले देखेन् । जस्तो नेता भए, हाम्रा कर्मचारी पनि त्यस्तै भए । सबै देश लुटाहाहरु हुन् । सत्तापक्ष, विपक्षी, सरकारी कर्मचारी सबै देशलाई लुट्नलाई आएका हुन् । लुट्छन्–लुट्छन् अनि सबै सकेपछि सडकमा उत्रिन्छन् । नेताहरु कमाउधन्दातिर लागेका छन् ।
देश खोक्रो परिसक्दापनि उनीहरुलाई चैन आएको छैन् । अझैपनि लुटन सक्छौं कि भन्ने उनीहरुमा छ । जनताको अवस्था दिनप्रतिदिन नाजुक बनिरहेको छ । तर, नेताहरुलाई मतलब छैन् । सरकारी खर्च बढेको बढ्यै छ । उठेको राजश्वभन्दा धेरै खर्च छ । विदेशमा बसेका नेपालीहरुले पठाएको रेमिट्यान्स पनि यिनीहरुको सेवासुविधामै सकिरहेको छ ।
वैदेशिक ऋण बढेको बढ्यै छ । देश लुट्ने लुट्ने लुट्ने अनि त्यसपछि सडकमा उत्रिने । लाज पनि नलाग्ने रहेछ । ऋण तिर्न नसकेर झण्डै एक लाख १५ हजार ऋणी कालोसूचीमा परेका छन् । उनीहरु सडकमा आइसकेका छन् । देशमा बस्न नसक्ने स्थिति छ । सहकारीले पैसा खाइदिएर सर्वसाधारणको घरमा रुवाबासी छ ।
ओली सरकार त रातदिन नभनिकन समाधान निकाल्नमा खट्नुपर्ने हो । विडम्बना, त्यसो हुन सकेन् । काम गर्न नसकेपछि ओली सरकार कार्यकर्ता उतार्नतर्फ लागेको छ । योभन्दा ठूलो नौटंकी के होला र ? काम गरेर प्रगति देखाउनुको साटो ओली सरकार आफ्नो पार्टीको शक्ति देखाउँदैछ ।
मेरो पार्टीमा यत्रो कार्यकर्ता छन्, कसैले मेरो केही उखाल्न सक्दैन् भनेर देखाउन खोजेका होलान् । ओलीलाई जनता चुनौती दिन्छन्,‘यदि वास्तवमै देश र जनताको लागि प्रधानमन्त्री बनेको हो भने रातदिन नभनिकन काम गर्नुपर्यो, नत्र पद छोड्नुपर्यो । बिनाकाम जनताले तिरेको करको दुरुपयोग नहोस् । जनतालाई नअल्मलाइयोस् । देशलाई थप बर्बाद नपारियोस् ।
जनतामा व्यापक निराश छाएको छ । जनतालाई न आफ्नो भविष्य थाहा छ न देशको । बुढा नेताहरु देशको गुनगान गाउँछन्, तर आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि आउँदैनन् । अब यो देशको लागि कसले के गर्छ ? जनता विदेशमा छन्, कार्यकर्ता यहाँ, त्यसैले नेताहरुको मनोमानी बढेको हो ।
देश चलाउने ड्राइभिङ सिटमा ओली छन् । उनले देशलाई खाल्डामा हाल्छन्, हाल्छन् । उनी यस्तो व्यक्ति हो, जो काम गर्न नसकेपछि थरीथरीको स्टण्ट देखाइहाल्छन् । आफ्नो विरोध भयो कि उनी कि सदन विघटन गर्छन् कि कार्यकर्ता सडकमा उतार्छन् । यसअघि प्रधानमन्त्री हुँदा उनले काम गर्न सकेनन् भनेर चौतर्फी आवाज उठ्यो ।
उनले दुईपटक सदन अवरोध गरिदिए । अहिले पनि उनको व्यापक विरोध भइसकेको छ । जनताले असफल प्रधानमन्त्री भनेर खिँचाइ गरिरहेका छन् । यसपटक उनी कार्यकर्ता उतारेर जनतालाई आफ्नो शक्ति देखाउँदैछन् । उनी काम गर्ने क्षमता कति छ ? उनी कस्तो खालको व्यक्ति हुन् ? भन्ने जनताले बुझिसकेका छन् । जनताको मुखमा बुझो लगाउन उनी लागिपरेका छन् ।