सत्ता समीकरणलाई कसैले हल्लाउन सक्दैन: अध्यक्ष ओली

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको समीकरण र सरकारलाई कसैले हल्लाउन नसक्ने दावी गरेका छन्। नेकपा एमालेका उपत्यकाका तीन जिल्ला कमिटीले शुक्रबार दरबारमार्गमा आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै ओलीले अहिलेको समीकरणले पुरै समय काम गर्ने स्पष्ट पार्दै कसैले चाहेर हल्लाउन नसक्ने दावी गरेका हुन्।

उनले अनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरू विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेको धारणा राखे। प्रधानमन्त्री ओलीले अराजकता र अस्थिरताको विपक्षमा रहेर देशमा साम्प्रदायिक सद्भाव कायम गरी आर्थिक समृद्धि ल्याउन सबै लाग्नुपर्नेमा जोड दिए। उनले कुनै पनि प्रकारको ठगी, तस्करी, भ्रष्टाचार, चरित्र हत्या र अश्लीलता स्वीकार्य नहुने बताए।

नेपाली जनता आफ्नो गौरव कायम गर्दै समृद्ध नेपाल सुखी नेपालीको सङ्कल्पलाई पुरा गर्न अघि बढ्ने ओलीले प्रष्ट पारे।

अलोकतान्त्रिक बाटोबाट अराजकता सिर्जना गरेर समाजलाई भाँड्न खोजिएको बताउँदै ओलीले सार्वभौम जनताको भविष्यलाई संकटमा पर्ने प्रयास गरिएको बताए।

देश र जनता प्रमुख कुरा भएकाले देश, जनता, विकास र सुशासनका पक्षमा एमाले दृढ रहेको उनले बताए। त्यस्तै प्रधानमन्त्री ओलीले कानुन विपरीत अपराध गर्नेलाई अहिलेको सरकारले नछाड्ने बताए। आफैँ सरकारी ठगी गर्ने अरूलाई मुख छाड्ने, अनि अरूलाई गाली गर्ने प्रवृत्ति सह्य नहुने उनको भनाइ छ।

त्यस्तै प्रधानमन्त्री ओलीले आफ्नो आसन्न चीन भ्रमण अत्यन्त सफल हुने बताए। ओलीले अहिले कतैबाट पनि सकेसम्म ऋण नलिने र आफ्नो उत्पादन वृद्धि गर्ने नीति लिइने पनि बताए। ओलीले देश बनाउने अभियानमा लाग्न र पार्टीभित्र कुनै गुटबन्दी नगरी अघि बढ्न एमालेका नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिए।