विभाजित पूर्वमाओवादीहरू एकता प्रक्रियामा छन्ः अध्यक्ष प्रचण्ड
काठमाडौं। पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजन भएका माओवादी पार्टीहरू एकताको प्रक्रियामा रहेको जानकारी दिएका छन।
आज (शुक्रबार) चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा शुक्रबार पार्टी कार्यर्ताहरूसँगको भेटघाट तथा छलफल कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन।
उनले विभाजनको शृङ्खला रोकिएको र एकताको प्रक्रिया सुरु भएको पनि बताएका छन। अध्यक्ष प्रचण्डले भने,अब मिल्नुको विकल्प छैन, विभाजनको शृङ्खला रोकिएको छ, सबै माओवादी एकताको प्रक्रियामा छन्।
उनले देशको विकास तथा निकासका लागि पूर्ण समानुपातिक र प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली आवश्यक रहेको पनि बताए। अध्यक्ष प्रचण्डले भने,हामीले पूर्ण समानुपातिक र प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली भनिरहेका छौँ, अहिले विस्तारै सबै पार्टीका बुद्धिजीवी पनि यो कुरा ठिकै हो भन्न थालेका छन्।
अहिलेको निर्वाचन प्रणालीले राजनीतिक भ्रष्टाचार बढाउने पनि उनले बताए। कार्यकर्तालाई पार्टीले गरेका सम्पूर्ण राम्रा कामबारे जनतासामु प्रष्ट पार्न उनले निर्देशन समेत दिएका छन।