एसपीपी सम्झौता गर्ने षड्यन्त्र भइरहेको छ: महासचिव विप्लव

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढल्दैन भन्ने बाहेकको अरु कुनै काम नभएको टिप्पणी गरेका छन्।

पार्टी पुनर्गठन दिवसको अवसरमा काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन्। सरकारले जनताप्रति उत्तरदायी काम गर्न नसकेको भन्दै उनले भने,हिजो प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँ दिनदिनै यो सरकार ढल्दैन भन्नुहुन्थ्यो।

अहिले केपीजी प्रधानमन्त्री हुनुहुन्छ। उहाँ पनि अहिले यो सरकार ढल्दैन भनेर भनिराख्नुभएको छ। उहाँको काम नै त्यहीमात्रै छ। जनतालाई लागेको छ, यो राति १२ बजे ढल्नसक्छ। बिहानै उछिटिनसक्छ अथवा देशमा भ्रष्टाचारीहरुले कब्जा गर्नसक्छन्, यो लागिरहेको छ।

महासचिव विप्लवले अहिले एमसीसीपछि एसपीपी सम्झौता गर्ने षड्यन्त्र भइरहेको भन्दै भने,एसपीपी सम्झौता गर्ने षड्यन्त्र गर्ने अनि चीनले अघि सारेको बीआरआई परियोजना चाहिँ ल्याउन दिनुहुँदैन भन्ने, जसरी पनि रोक्नुपर्छ, ऋणको पासो हो भनेर भ्रम छर्ने, अनि विदेशी सेना ल्याउने सम्झौता चाहिँ जसरी पनि पास गर्ने खेल चलिरहेको छ।