नेपाल प्रहरीका ८ एसएसपी डीआईजीमा बढुवा सिफारिस (सूचीसहित))
काठमाडौं । नेपाल प्रहरीका ८ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस भएका छन्। आइतबार बेलुका बसेको बढुवा समितिको बैठकले जनपदतर्फ रिक्त डीआईजीमा बढुवाका लागि ८ एसएसपीलाई सिफारिस गरेको हो।
हालका प्रहरी महानिरीक्षक (आइजी)का ब्याची ध्रुवराज राउत, भोलाबहादुर रावल र गणेश चन्द क्रमशः पहिलो तीन नम्बरको सिफारिसमा परेका छन्। यसअघिको बढुवामा अन्यायपूर्वक छुटाइएको टोली यस पटकको बढुवामा समेटिएको छ।
राष्ट्रिय अनुसन्धान विभागको अधिकृतका रूपमा भर्ना भई पछि नेपाल प्रहरीको इन्स्पेक्टर दर्जामा समायोजित टोली डीआइजीका निम्ति सिफारिसमा परेको हो। सिध्दिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्मरबहादुर विक उक्त टोलीका हुन्।
राष्ट्रिय अनुसन्धानको अधिकृतमा २०५३/०९/०५ मा भर्ना भई पछि प्रहरीमा समायोजन हुने शाह, राठौर, चतुर्वेदी, श्रेष्ठ र विक डीआईजी बढुवा हुँदा प्रहरीकै इन्स्पेक्टरका रूपमा सेवा प्रवेश गरेको २०५४/१२/१८ भर्ना मितिका एसएसपी यो बढुवा सिफारिसमा छुटेका छन् ।
उक्त व्याचबाट यसअघि नै हालका प्रहरी प्रवक्ता दानबहादुर कार्कीसहित डा.मनोजकुमार केसी र राजन अधिकारी डीआईजी भैसकेका छन्। राष्ट्रिय अनुसन्धानको टोली डीआईजी दर्जामा छिरेसँगै आगामी भदौमा परिवर्तन हुने प्रहरी नेतृत्वको प्रतिस्पर्धा रोचक हुने भएको छ।