रक्सीका कारण सर्वसाधारणको सकिँदै धनजन,प्रधानमन्त्री र गृहमन्त्री के हेर्दैछन् ?

गृहमन्त्री रमेश लेखकलाई सर्वसाधारण सोध्छन्,‘जिल्लाका सिडियो र प्रहरीहरु ऐनकानुन कार्यान्वयनका लागि बसेका हुन् कि दिन कटाउनलाई ? कामै नगर्ने भए सिडियो र प्रहरी किन चाहियो ? जिल्ला प्रशासन र प्रहरी ऐनकानुन कार्यान्वयन गर्ने सरकारको एउटा इकाई हो।

तर, उनीहरुले आफ्नो दायित्व पूर्ण रुपमा पुरा गरेका छन् त ? पछिल्लो समय मादक पदार्थ सेवन गर्नेको संख्या ह्वात्तै बढेको छ। यो समस्या गाउँदेखि शहरसम्म छ। मादक पदार्थ सेवनकै कारण धेरैको घरपरिवार लथालिङ्ग बनेको छ। काम नगर्ने, बिहान उठेदेखि भट्टी छिर्ने।

आम नागरिकको घरमा यत्रो समस्या भइसक्दा पनि सरकारले त्यस्ता व्यवसायीलाई कारबाहीको दायरामा ल्याउन सकेको छैन्। कानुन मान्ने हो भने घरेलु रक्सी बनाउन र बेच्न पाइँदैन् । प्रहरीले विगतमा कहिलेँकाही घरेलु रक्सी नष्ट गरेको समाचार आइरहेको हुन्थ्यो।

पछिल्लो समय प्रहरी सेलाएको देखिन्छ। व्यापारीहरुले आफ्नो फाइदाको लागि रासायनिक मल हालेर रक्सी बनाउँछन्। होटलमा बचेको भातबाट पनि रक्सी बनाउने बताइन्छ। भैंसीको हड्डीबाट पनि व्यापारीले रक्सी बनाउँदै आएका छन्। घरेलु रक्सीमा एकदमै हानिकारक पदार्थहरु मिसाइएको हुन्छ।

यस्तो रक्सी व्यापारीले मानाको एक सयदेखि तीन सय रुपैयाँ मानामा बेचिरहेको छ। रक्सीको सेवनबाट पैसा त सकिन्छ,सकिन्छ साथै कलेजो र फोक्सो पनि काम नलाग्ने हुन्छ। अर्कोतिर घरव्यवहार पनि बिग्रिन्छ। प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री लेखकले घरेलु रक्सी बनाउने र बेच्नेलाई कारबाही गर्न निर्देशन दिएका छैनन्।

जनताको स्वास्थ्यमाथि खेलबाँड भइरहेको छ । तर, सरोकारवाला टुलुटुलु रमिता हेरेर बसेको छ । देशको ऊर्जाशील युवाशक्तिहरु घरेलु रक्सीको लतमा लागेका छन् । भर्खर २०–२१ वर्षका युवायुवतीहरु रक्सी खाएर सडकमै सुतिरहेको देखिन्छ । कतिपयको हातखुट्टा भाँच्चिएको हुन्छ, कतिपयको दाँत।

झ्याप हुनेगरी रक्सी खायो अनि सडकमै सुत्यो। रक्सी खाने लत लागेकाहरुले पाकेट मार्छन्, उनीहरु अपराधमा जोडिन्छन्। ती नागरिकबाट न राज्यले केही पाउँछ न तिनका घरपरिवारले। कानुनले जुवातास र लंगुरगुज्जालाई निषेध गरेको छ । दशैंतिहार सकिसकेको छ।

तैपनि जुवातास र लंगुरगुज्जा खेलाउने क्रम रोकिएको छैन् । सडक छेउछाउ लंगुरगुज्जा खेलाइरहेको देखिन्छ । जुवातास त छ्याप्छ्याप्ती खेलाएको होला। तर, कसको अनुगमन गर्ने ? पछिल्लो समय होटल–रेष्टुरेण्टले यौनधन्दा चलाइरहेको सुनिन्छ । बाहिर खाना, खाजा बेचेझैं गर्ने, भित्रचाँहि अर्कै धन्दा हुन्छ।

कलिला केटीहरु पनि यस्तो धन्दामा संलग्न छन्। उनीहरु त भविष्य सकियो। सरकार अलिक कडा भएर समाजमा भएका यस्ता बेतिथि रोक्नतर्फ लाग्नुपर्यो। गृहमन्त्रीले जिल्लाका सिडियोहरुलाई अनुगमनका लागि निर्देश गर्नुपर्यो। किन कि यसले भविष्यमा मुलुकमा ठूलो संकट ल्याउने निश्चित छ।

सरकारले न जनताको धनको सुरक्षा गर्न सक्यो न ज्यानको। यता, बालबालिकाको अधिकारको सुरक्षा गर्न पनि सरकार चुकेको छ। अभिभावक गलत बाटोमा जानेबित्तिकै त्यसको सीधा असर बालबालिकालाई पर्छ। उनीहरु कि बालश्रम गर्न पुग्छन् कि बेचिन्छन्। पछिल्लो समय धेरै बालबालिका हराइरहेको सुनिन्छ।

यहाँ त अर्काको घरव्यवहार बिगारेर व्यापारीलाई कमाउनुपरेको छ। जिल्लाका सिडियो र प्रहरीहरुलाई त्यस्ता व्यापारीबाट हप्ता उठाउनुपरेको छ। अनि कसरी समाज सुधारको बाटोमा जान्छ ? सिडियो र प्रहरीहरु ऐनकानुनहरु दराजमा थन्काउँछन् र आफ्नो जिम्मेवारी पनि बिर्सिन्छन्।

मेरो दायित्व के हो ? उनीहरु ख्याल गर्दैनन्। सरकारले के कानुन बनाएको छ ? कार्यान्वयनमा उनीहरुलाई चासो छैन् । उपत्यकाभित्रका होटल रेष्टुरेण्ट र भट्टी पसलमा छापा मार्ने हो भने घरेलु मदिरा छ्याप्छ्याप्ती भेटिन्छ । जुवातास कसले खेलाइरहेको छ ? यौन धन्दा कहाँकहाँ चलिरहेको छ ? खुल्छ ।

गलत काम गर्नेहरु कानुनको दायरामा आउँछन् । तर, कसले छापा हान्ने ? छापा हान्यो भने धेरैको कमाउने बाटो बन्द हुन्छ । सरकार भन्छ,‘सार्वजनिक ठाउँमा सुर्तीजन्य पदार्थको बेचिबिखन र प्रयोग गर्न पाइँदैन् ।’ कसले टेर्ने ? कागजमा लेखेर मात्र भएन् कडा रुपमा कार्यान्वयन आवश्यक छ ।

सार्वजनिक स्थलमा चुरोटको धुँवा उडाइरहेको देखिन्छ । सार्वजनिक स्थलमा चुरोट, खैनी, गुट्खा बेचेको त यत्रतत्र देखिन्छ । तर, कारबाहीचाँहि गरिँदैन् । प्रहरीहरुले पैसाको लागि आफ्नो बर्दी बेच्छन् भन्ने त ललितपुरको घटनाले नै देखाइसकेको छ । ‘हनिट्रयाप’ जस्तो गम्भीर कसूरमा कमिशन खानेलाई कुन आधारमा प्रहरी भन्ने ?

प्रहरी त नागरिकको धनजन, समाजमा शान्तिसुरक्षाका लागि राखिएको हो । तर, प्रायःजसो गलत ट्रयाकमा हिँडे । भट्टी पसल सञ्चालन गर्नेहरुले पनि राजनीतिक पार्टीको सदस्यता लिएका छन् । जुवातास खेलाउने पनि तिनकै कार्यकर्ता हुन् । केही समयअघि बहालवाला जनप्रतिनिधि नै जुवातास खेल्ने क्रममा समातिएका थिए।

प्रहरीहरु नै जुवाखालबाट पक्राउ पर्छन् । आफ्नो पार्टीको भएपछि जनप्रतिनिधिहरु देखेर पनि अनदेखा गरिदिन्छन् । माओवादीले २०५२ फागुन १ गते जनयुद्ध शुरु गरेपछि महिला, बालबच्चा पनि जोडिए । किन कि जुवातास खेल्नेलाई माओवादीले तासै खुवाउँथ्यो । रक्सी खानेलाई पनि कारबाही गर्थ्यो ।

त्यसैले महिला र बालबच्चाले माओवादीको अभियानलाई साथ दिएका हुन् । दैनिक घरमा झगडा कसले चाहन्छ ? बरु पानी खाएर पेट भरौला, आनन्द चाहियो । रक्सी खाने घरपरिवारमा कहिले खुशी आउँदैन् । तिनको सन्तान शिक्षाबाट समेत टाढिन्छन् । परिवार तहसनहस हुन्छ ।

माओवादीले सञ्चालन गरेको अभियानलाई सरकारले निरन्तरता दिन सकेन् । एउटा नागरिक गुम्दा राज्यलाई ठूलो नोक्सानी हुन्छ । तैपनि राज्यले लापरवाही देखाइरहेको छ । जनताले अकालमा ज्यान गुमाइरहेका छन्, सरकार आँखा चिम्लेर बसेको छ । यस्ता जनप्रतिनिधि पनि छन्, जो रक्सी खाएर नगरपालिका र वडा पुग्छन् ।

कर्मचारीहरु पनि ‘जडँयाहा’ छन् । राति खाएको रक्सीले बिहान कार्यालय खुल्दासम्म छोडेको हुँदैन् । यस्ता जनप्रतिनिधि र कर्मचारीबाट जनताले के आश राख्ने ? प्रधानमन्त्री जनताको अभिभावक हुन् । अभिभावकले सँधै आफ्नो सन्तानको भलो चाहन्छन् । तर, हाम्रो प्रधानमन्त्री किन जनताको भलो चिताइरहेका छैनन् ?

भलो चिताएको भए समाजमा भएको यस्तो बेतिथिहरु रोक्न ‘एक्सन’ लिन्थें होला । राज्यले कर्मचारी, प्रहरी सबैलाई तलबभत्ता दिएको हुन्छ । चाडबाडमा पेश्की पनि दिएको हुन्छ । तैपनि व्यापारीबाट पैसा उठाउँछन् । हप्ता उठाउँछन् । चाडबाड आउनेबित्तिकै खर्च माग्न पुग्छन् । अनि कसरीचाँहि गलत गर्नेहरु कानुनको दायरामा आउँछन् ?

कुनै देश र जनताको गीत गाएर लुट्छन्। कुनै हामी ‘राष्ट्रसेवक’ हो भनेर लुट्छन्। अनि त्यसको शिकार बन्छन्, सीधासाधी, अशिक्षित, गरिब जनता। देशमा बढ्दो बेरोजगारी, आर्थिक अवस्था कमजोर भएको कारणले जनताहरु गलत ट्रयाकमा गइरहेका छन्। तर, सरकारलाई मतलब छैन्। कसैले आफू कमाउनका लागि अरुलाई बर्बाद बनाइरहेका छन्।