एमसीसीअन्तर्गत ४ सय केभी प्रसारणलाइनका लागि बोलपत्र आह्वान
काठमाडौं । एमसीए नेपालले मिलिनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गतको २९७ किलोमिटर लामो चार सय केभी विद्युत् प्रसारण लाइनका लागि बोलपत्र आह्वान गरेको छ ।
एमसीए नेपालले बुधबार सूचना जारी गरी प्लान्ट डिजाइन, आपूर्ति, वितरण, स्थापना र परीक्षणका लागि बोलपत्र आह्वान गरेको हो ।
यसअघि गरिएको बोलपत्रमा अनुमानित लागतको तुलनामा भन्दा बढी बोलपत्रदाताहरुले लागत प्रस्ताव गरेको भन्दै ठेक्का रद्द गरिएको थियो । त्यसैले प्रसारण लाइन परियोजनाको नयाँ टेन्डर आह्वान गरिएको हो ।
एमसीए नेपालले ३१५ किलोमिटर लामो प्रसारणलाइन परियोजनालाई चार भागमा बाँडेर निर्माण प्रक्रिया अघि बढाउँदैछ । त्यसमध्ये न्यु बुटवल–गोरखपुर प्रसारणलाइनको नेपालपट्टिको १८ किलोमिटर खण्डको ठेक्का लागि सकेको छ।
१ करोड २४ लाख अमेरिकी डलरमा सो प्रसारण लाइन निर्माण गर्न ट्रान्सरेल लाइटिङ लिमिटेडसँग १४ भदौ ०८१ मा सम्झौता भएको थियो । उक्त प्रसारण लाइन २१ महिनाको अवधिमा निर्माण गरिने एमसीसीले जनाएको छ ।
प्रसारणलाइनको पहिलो लटमा लप्सीफेदी–रातमाटे–न्यू हेटौंडा खण्ड पर्छ । दोस्रो लटमा रातमाटे–न्यू दमौली खण्ड र तेस्रो लटअन्तर्गत न्यू दमौली–न्यू बुटवल प्रसारण लाइन तोकिएको छ । प्रसारण लाइनको निर्माणका लागि बोलपत्र प्रस्तुत गर्ने समयसीमा १७ माघ २०८१ लाई तोकिएको छ ।
अघिल्लो बोलपत्र आह्वानमा पहिचान गरिएका मुख्य लागत निर्धारकहरूमाथि समीक्षा गरिएकाले थप कार्यान्वयनयोग्य र लागत–प्रभावकारी प्रस्तावहरू प्राप्त हुने अपेक्षा गरिएको पनि एमसीए नेपालले जनाएको छ ।
यसअघि गत वर्षको ८ जेठमा प्रसारण लाइनलाई तीन लटमा बाँडेर टेन्डर आह्वान भएकोमा निर्माणको प्रस्ताव गर्ने कम्पनीमध्ये पाँचवटा प्राविधिक रुपमा योग्य ठहरिएका थिए।
उनीहरुले सबैभन्दा कमको टेन्डर नै एमसीएको लागत अनुमानभन्दा ६६ प्रतिशत उच्च भएपछि सो टेन्डर प्रक्रियालाई गत वर्षकै २६ असोजमा सम्पूर्ण रुपमा रद्द गरिएको थियो।