सहयोगको भावना वृद्धि गर्नुपर्छ: अध्यक्ष प्रचण्ड

फाइल तस्बिर

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा दुःखपीडामा परेकालाई सहयोग गर्नु नेपाली समाजको संस्कृति भएको उल्लेख गर्दै सहयोगको भावना वृद्धि गर्नुपर्नेमा जोड दिएका छन्।

गत कात्तिक २८ गते झाँक्री प्रकाश भुजेलले चलाएको गाडीको ठक्करबाट ज्यान गुमाएका नारायण नगरकोटी र श्रीमती सानुमाया नगरकोटीका दुई छोरीलाई आज शैक्षिक सामग्री हस्तान्तरण गर्दै उनले उक्त कुरा बताएका हुन्।

दुर्घटनापछि अध्यक्ष दाहाल कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटस्थित नगरकोटी निवास पुगेर बाबुआमा गुमाएका दुई छोरी गरिमा र अनु नगरकोटीको अभिभावकत्व लिने घोषणा गरेका थिए ।

उनको घोषणालाई समथर्न गर्दै उद्धव नेपालले गरिमा र अनुलाई कक्षा १२ सम्म अध्ययन गर्दा आवश्यक पाठ्यपुस्तकलगायत शैक्षिक सामग्री र पोशाक सहयोग गर्ने घोषणा गरेका छन्।

सहयोग घोषणा कार्यक्रममा अध्यक्ष दाहालले शैक्षिक सामग्री सहयोग गर्ने नेपाल, घटनालगत्तै एकताबद्ध भएर यो पीडालाई उजागर गर्दै सहयोग सङ्कलन गर्ने आलापोटवासी र निःशुल्क अध्ययनको व्यवस्था मिलाउने विद्यालयलाई धन्यवाद दिए। उनले भने, ‘समाजमा पीडामा भएका र सेवा आवश्यक भएकालाई सहयोग गर्ने भावना नेपाली समाजको संस्कृति नै हो, यसलाई बढाएर लैजानुपर्छ।

पार्टीले बालिकाहरुको अभिभावकत्व लिने प्रतिबद्धता व्यक्त गरिसकेको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यसलाई पूरा गर्ने र कक्षा १२ सम्म पार्टीले नै अभिभावकत्व लिएर बुवाआमा गुमाएका दुई छोरीलाई पठनपाठनको व्यवस्था मिलाउने बताए। सो क्रममा सहयोगी नेपालले बालिकाका परिवारलाई शैक्षिक सामग्री पनि हस्तान्तरण गरेका थिए।