कांग्रेस-एमालेलाई झड्का,माओवादी उत्साहित,कसकाे अवस्था के छ?

काठमाडौं । स्थानीय तह उपनिर्वाचन २०८१ सम्पन्न भएको छ । जिल्ला समन्वय समिति, नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र वडाध्यक्ष गरी ४४ स्थानका लागि यो उपनिर्वाचन भएको थियो।

ओखलढुंगा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेस उम्मेदवार यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । त्यस्तै रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं २ को वडाध्यक्षमा पनि माओवादी उम्मेदवार निर्विरोध भएका थिए । तीन ठाउँमा निर्विरोध निर्वाचित भएपछि बाँकी ४१ सिटका लागि आइतबार मतदान भएको थियो।

मतदान भएकामा एउटा नगरपालिका प्रमुख र दुई वटा गाउँपालिका अध्यक्ष पद थिए । त्यस्तै उपाध्यक्ष एवं उपप्रमुख पद ५ वटामा मतदान भएको थियो । त्यैगरी ३३ वटा वडाध्यक्ष पनि मतदानबाटै चुनिएका छन् । ४४ स्थानमध्ये नेपाली कांग्रेसले १९ ठाउँमा विजय हासिल गरेको छ । त्यसै माओवादी केन्द्रले ११ वटा सिट जितेको छ भने तेस्रोमा एमालेले ८ स्थानमा जित निकालेको छ ।

माओवादीले केही आफ्ना पुराना सिट गुमाए पनि नयाँ ठाउँमा जितेर उल्लेख्य सिट बढाएको छ । कांग्रेसले केही नयाँ ठाउँमा जित हात पारे पनि साबिकका उल्लेख्य सिट गुमाएको छ । एमालेले केही वडाध्यक्षका पद गुमाएर प्रमुख र उपप्रमुखको पद जोडेको छ । एमालेले यसअघि जितेका आठ वडामा निर्वाचन भएको थियो । तीन वडाध्यक्ष गुमाएको एमालेले एक पालिका अध्यक्ष र एक उपाध्यक्ष पाएको छ ।

कांग्रेसलाई गम्भीर धक्का

यो उपनिवर्पाचनमा कांग्रेसलाई सबैभन्दा ठूलो धक्का लागेको छ । कांग्रेसले यसअघि जितेका छ मध्ये काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर मात्रै जितेको छ । कांग्रेसले अघिल्लो चुनावमा जितेका मध्ये दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष तथा बाजुराको स्वामिकार्तिक गाउँपालिका उपाध्यक्ष गरी तीन नयाँ पदाधिकारी एमालेले जितेको छ ।

माओवादीले रुकुमको पुथा उत्तरगंगा र हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष जोगाएको छ भने मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष र जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पद थपेको छ । यी दुवै ठाउँ यसअघि कांग्रेसले जितेको थियो । यस्तै, उपचुनाव भएका ३४ वटा वडामध्ये यसअघिको चुनावमा कांग्रेसले १९, एमालेले एमालेले आठ, माओवादीले छ, जसपा नेपालले एक पद जितेका थिए । यस पटक कांग्रेसले तीन वडा गुमाएर १६ र एमालेले तीन वडा गुमाएर पाँच मात्र जितेका छन् ।

माओवादीलाई फाप्यो

यस उपनिर्वाचनमा माओवादी केन्द्रले नेकपा एमालेलाई उछिनेर बलियो उपस्थिति जनाएको छ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै माओवादी विजयी भएको छ । यसअघि पनि माओवादीले जितेको यो पालिकाको उपाध्यक्षमा माओवादीकी नरपुरा बुढा विजयी भइन् । आफ्नो पूर्ववत् स्थान जोगाउनुभन्दा कांग्रेस–एमाले गठबन्धनलाई पराजित गर्नु माओवादीका लागि प्रतिष्ठाको विषय बनेको थियो  ।

त्यस्तै मोरङको ग्रामथान गाउँपालिकामा कांग्रेसको विरासत तोडेर माओवादीले जित्यो  । माओवादीका नमोनारायण माझीले कांग्रेसका बलराम सरदारलाई पराजित गरेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले उत्साहित हुँदै त्यस क्षेत्रका सांसद अमनलाल मोदी र विजयी भएका माझीलाई बधाई दिन भ्याए । जाजरकोट नलगाडमा कांग्रेसका उम्मेदवार इन्द्राचन्द सिंहलाई पराजित गरी माओवादीकी देवका लामिछाने निर्वाचित भइन् ।

यसअघि जितेको हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पद पनि जोगाएको छ । माओवादीले एक अध्यक्ष, तीन उपप्रमुख र ७ वडाअध्यक्षसहित ११ स्थान जितेको छ । निरन्तर सत्ता मोहका कारण माओवादीप्रति मतदाताको चर्को आलोचना बढिरहेका बेला एक पालिका उपाध्यक्ष जोगाउँदै यो उपनिर्वाचनमा थप दुई पालिका मोरङको ग्रामथानमा अध्यक्ष र नलगाडमा उपप्रमुख जितेपछि माओवादी उत्साहित भएको छ ।

प्रतिष्ठा जोगाउन सफल रास्वपा

पार्टी सभापति रवि लामिछाने हिरासतमा रहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं–१६ लाई प्रतिष्ठाको विषय बनाएको थियो । त्यही कारण उसले आफ्नो सम्पूर्ण शक्ति त्यही लगाएको थियो । अन्ततः रोजिना श्रेष्ठको जितले उसको प्रतिष्ठा जोगाइदिएको छ । यस निर्वाचनमार्फत रास्वपाले स्थानीय सरकारमा पहिलोपल्ट प्रवेश पाएको छ । काठमाडौं– १६ मा चुनाव जितेर रास्वपाले सहरी जनमत आफ्नो पक्षमा रहेको सन्देश प्रवाह गर्न पनि सफल भएको छ । यसअघि जितको कांग्रेस भने यहाँ तेस्रो भएको छ ।

राप्रपाको लज्जास्पद मत

स्थानीय तह उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले लज्जास्पद मत पाएको छ । त्यसो त, २०७९ को स्थानीय तह निर्वाचनमा राप्रपाले जितेकामध्ये कुनै पनि स्थानमा उपनिर्वाचन भएको थिएन । तर पनि जनमत मापन गर्ने लोकतान्त्रिक माध्यम मानिएको निर्वाचनमा यो पार्टीप्रति जनताको खासै उत्साह र भरोसा देखिएन ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनकै गृहजिल्ला झापाको कन्काइ नगरपालिका–६ को वडा अध्यक्ष पदमा राप्रपाले जम्मा २६ मत प्राप्त गरेको छ । स्थानीय तहमा राप्रपाले कुनै पद गुमाएर निर्वाचनमा होमिएको अवस्था नभएपनि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने २०८४ को निर्वाचन अघि पनि मुलुकको नेतृत्व गर्नुपर्ने हुन सक्ने वा ०८४ को निर्वाचनपछि राप्रपाको विकल्प नहुने जिकिर गरेका थिए । तर, उपचुनावमा मतदाताले राप्रपालाई पत्याएन ।

केही साना दलले जोगाए अस्तित्व

यस निर्वाचनमा केही साना दलले पनि आफ्नो अस्तित्व जोगाएको छ । जसपा नेपालले २ स्थान जितेको छ भने नेकपा एकीकृत समाजवादी, नेमकिपा, रास्वपा र स्वतन्त्र उम्मेदवारले एक–एक ठाउँ जितेका छन् ।

यो उपनिर्वाचनले सहरमा अहिले पनि पुराना राजनीतिक दलहरूप्रति वितृष्णा रहेको प्रस्ट देखाएको छ । जनताले भोट दिने नयाँ ठाउँ खोजिरहेको देखिन्छ । कीर्तिपुरको मेयरको चुनावमा विजय प्राप्त गर्ने काँग्रेस उम्मेदवारको मत र स्वतन्त्र उम्मेदवारहरूको मत हाराहारी छ । सहरी क्षेत्रमा अहिले पनि जनताले अहिले चल्तीमा रहेका दलहरूलाई विश्वास गर्न सकिरहेका छैनन् । यद्यपि, गाउँहरूमा अहिले पनि राजनीतिक दलहरूको दबदबा नै छ।