सिटिजन्स बैंकलाई ‘बैंक अफ द ईयर-२०२४’ को अवार्ड
काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड विश्वको प्रतिष्ठित ‘बैंक अफ द ईयर-२०२४’ को अवार्डबाट लण्डनमा सम्मानित भएको छ।
संयुक्त अधिराज्य (युके) अवस्थित द फाइनान्सियल टाईम्सले डिसेम्बर ४, मा आयोजना गरेको एक कार्यक्रमका बीच सिटिजन्स बैंकलाई बैंक अफ द ईयर २०२४ को अवार्ड प्रदान गरिएको हो।
बैंक सञ्चालक समितिका अध्यक्ष प्रवलजङ्ग पाण्डे र बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकको प्रतिनिधित्व गर्दै सम्मान ग्रहण गरे।
समारोहमा करिब १०० भन्दा बढी देशका बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत लगायतका अधिकारीहरु सहभागी थिए।
बैंक सञ्चालक समितिका अध्यक्ष प्रवलजङ्ग पाण्डेले बैंकिङ्ग क्षेत्रको ओस्कार पुरस्कार मानिने विश्वको प्रतिष्ठित बैंक अफ द ईयर २०२४को अवार्ड बैंकले प्राप्त गर्न सफल भएकोमा गौरव महसुस गर्दै यसबाट आगामी दिनमा अझ उत्कृष्ट प्रविधिमैत्री आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्न हौसला मिलेको बताए।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सरोकारवाला निकायहरुको सहयोग एवं कर्मचारीहरुको अहोरात्र मेहनतबाट अवार्ड प्राप्त गर्न सम्भव भएको उल्लेख गर्दै सेवा सुविधाहरुमा थप्ने बल प्रदान गरेको बताए।
द फाइनान्सियल टाईम्सले वार्षिक रुपमा विभिन्न देशका बैंकहरुले गर्ने कार्यसंम्पादन एवं गतिविधिहरुलाई मध्यनजर गर्दै बैंक अफ द ईयरबाट सम्मानित गर्ने गरेको छ।
सिटिजन्स बैंकले हालैमात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स ‘भर्चुअल क्रेडिट कार्ड ‘ सञ्चालनमा ल्याएको छ । भौतिक कार्डबिना नै मोवाइलको माध्यमबाट स्क्यान गरि क्रेडिट कार्डको सुविधा उपभोग गर्न सकिने विशेषता छ।
बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ्ग ईकाइहरुबाट करिब १८ लाख भन्दा बढी ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ।