रौतहटमा स्कर्पिओ रुखमा ठोक्किँदा ८ जनाको मृत्यु

काठमाडौं । रौतहटमा गएराति स्कार्पिओ दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। बाराको गढिमाई मेलाबाट सिराहा फर्कदै गरेका यात्रु सवार बा १६ च ३१६२ नम्बरको स्कर्पियो पूर्वपश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका– ४ स्थित धन्सार–लमाहा सडक खण्डमा दुर्घटनामा परेको हो।

तीव्र गतिको स्कार्पिओ अनियन्त्रित भएर सडकबाट तल खसेर रुखमा ठोक्किँदा चालकसहित ८ जनाको मृत्यु र ४ जना घाइते भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईले बताए।

मृत्यु हुनेहरुमा सिराहा अर्नामा गाउँपालिका–३ बंठियाटोलका ६० वर्षीया लरुवती देवी महरा, ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगीं देवी महरा, ६२ वर्षीया फुलमन्ति देवी चमार, ६० वर्षीया रामकुमारी देवी महरा, ३० वर्षीया सकुन्तला देवी महरा र ४० वर्षीय स्कर्पिओ चालक श्रीकुमार यादव रहेका छन्।