यू-१९ महिला एसिया कपः नेपालले भारतसँग अङ्क बाँड्यो

काठमाडौं। एसीसी यू–१९ महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिताको मंगलबार खेलिएको आफ्नो दोस्रो खेलमा नेपाल र भारतले अङ्क बाँडेका छन्। खराब मौसमका कारण खेल प्रभावित बनेपछि दुई टोलीले अङ्क बाँडेका हुन्।

नेपालले भारतलाई जितका लागि ९५ रनको लक्ष्य दिएको थियो । भारतले ३.१ ओभरमा बिना कुनै विकेटको क्षतिमा २८ रन बनाएको अवस्थामा हावाहुरीसँग वर्षा भएपछि खेल रोकिएको थियो।

यसअघि मलेसियामा जारी खेलमा टस हारी ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ९४ रन बनाएको थियो।

नेपाल र भारत यसअघि नै सुपर–४’ चरणमा प्रवेश गरिसकेको छ। नेपालले सोमबार खेलिएको आफ्नो पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी पाकिस्तानलाई ६ विकेटले हराएको थियो। भारतले पनि यसअघि पाकिस्तानलाई नै हराएको थियो।