निर्मला पन्त हत्या प्रकरणमा नयाँ शिराबाट अनुसन्धान थाल्ने

काठमाडौं। कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणबारे प्रहरीले फेरि अनुसन्धान थाल्ने भएको छ।

निर्मलाको हत्या प्रकरणको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नयाँ टोली खटाउने भएको हो। अनुसन्धानमा खटिएका अधिकृतहरूसँग छलफल गरेर एउटा निष्कर्ष निकालेर नयाँ कोणबाट फेरि अनुसन्धान अघि बढाउन लागिएको सीआईबी स्रोतले जनाएको छ।

०७५ साउन १० गते घरबाट साथीको घर गएकी निर्मलाको बलात्कारपछि हत्या भएको अवस्थामा भोलिपल्ट शव फेला परेको थियो । घर नजिकै उखुबारीमा उनको शव फेला परेको थियो।

त्यसपछि भएका पटकपटकका अनुसन्धानमा हत्यारा पत्ता लगाउन नसकेको प्रहरीले फेरि नयाँ शिराबाट अनुसन्धान थाल्न टोली खटाउन लागेको हो। छलफल सकेर एउटा निचोड निकालेपछि अनुसन्धानका लागि नयाँ टोली पठाइने सीआईबीले जनाएको छ।

गत साउन १० गते मात्रै पन्तको बलात्कार–हत्या भएको ६ वर्ष पूरा भएको छ। तर अहिलेसम्म हत्यारा पत्ता लगाउन प्रहरीले सकेको छैन।

कञ्चनपुरकै नेता रमेश लेखक अहिले गृहमन्त्री छन्। यसअघि उनले समेत पन्तको बलात्कार र हत्यारालाई सरकारले पत्ता लगाउन नसकेको भन्दै आलोचना गरेका थिए। तर अहिले अनुसन्धान गर्ने जिम्मेवारी निकायमै उनै लेखक पुगेका छन्। तर हत्यारा अहिलेसम्म पहिचान हुन सकेको छैन।

६ वर्षको अवधिमा ५ जना गृहमन्त्री र प्रहरी प्रमुख फेरिए, ६ वटा समिति बने, तर अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन।

१० साउन २०७५ मा साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी पन्त भोलिपल्ट भीमत्त नगरपालिकाकै निम्बुखेडा खोला किनारको उखुबारीमा मृत भेटिएकी थिइन्।

घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै भएको आन्दोलनका क्रममा भीमदत्त–१८ का १५ वर्षीय सनी खुनाको ज्यानै गएको थियो। यो बीचमा १२४ जनाको डीएनए जाँच, ६५५ जनासँग सोधपुछ गरिए पनि नतिजा शुन्य छ।