फाइनल प्रवेशका लागि आज कर्णाली र जनकपुर भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को क्वालिफायर टुमा आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्यान्न १२ बजे सुरु हुनेछ।
लिग चरणमा चौथो स्थानमा रहेको कर्णालीले बुधबार भएको एलिमिनेटरमा चितवन राइनोजलाई पराजित गर्दै क्वालिफायर टु मा प्रवेश गरेको थियो।
लिगमा दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्स भने क्वालिफायर वानमा सुदूरपश्चिम रोयल्सलाई पराजित गरेपछि क्वालिफायर टु खेल्न लागेको हो।
सुदूरपश्चिमसँग पराजित भएपनि जनकपुरका लागि फाइनल पुग्ने अर्को अवसर प्राप्त भएको छ ।
लिगको अन्तिम खेलमा पराजित भएपनि कर्णालीले एलिमिनेटरमा उत्कृष्ट प्रदर्शन गर्दै चितवनलाई हराएकोले लयमा छ । चितवन विरुद्ध विशेषगरी कर्णालीको ब्याटिङ राम्रो देखिएको थियो ।
कर्णालीका विलियम बोसिस्टो, चाडविक वाल्टनले राम्रो ब्याटिङ गरेका छन् । यस्तै जिसन मक्सुदले अलराउण्ड प्रदर्शन गरिरहेका छन् । भर्खरै अनुबन्ध भएर प्लेअफमा खेलेका जयकसिन कोल्सावालाले पहिलो खेलमै अर्धशतक बनाएर बफ्नो उपस्थिती प्रमाणित गरिसकेका छन् ।
बलिङमा युवा स्पीनर विपिन प्रसाद शर्मासहित कप्तान सोमपाल कामी र नन्दन यादव छन् । कर्णालीमा धेरै अलराउण्डर हुँदा बलिङमा विकल्प छ । तर, ब्याटिङमा अपेक्षाअनुसार नेपाली खेलाडीले अझै प्रदर्शन देखाउन सकेका छैन । देव खनालले एक अर्धशतक बनाउनु बाहेक ब्याट चलेको छैन । गुलसन झा ले पनि अपेक्षा अनुसार प्रदर्शन गर्न सकेका छैनन् ।
उता, नियमित कप्तान अनिल साह हातको चोटका कारण खेल्न नसक्नेपछि सुदूरपश्चिम विरुद्धको क्वालिफायर वान गुमाएका थिए । उनले कर्णाली विरुद्ध पनि खेल्ने छैनन् ।
अनिलको अनुपस्थितिमा आकाश त्रिपाठीले पहिलो रोजाईँमा खेलेका थिए । ब्याटिङमा जिम्मी नीशमम धेरै भर पर्दा जनकपुरका अन्य खेलाडीले राम्रो साथ दिन सकेका छैनन् ।
सुरुवाती खेलमा जनकपुरको टप अर्डरले उत्कृष्ट प्रदर्शन गरेपनि मिडल अर्डर चल्न सकेको छैन । त्यसैले फाइनल पुग्ने होभने जनकपुरको टप अर्डरले राम्रो प्रदर्शन गर्नुपर्ने आवश्यकता छ ।
लिग चरणमा जनकपुरले कर्णालीलाई ८ विकेटले पराजित गरेको थियो । जहाँ अनिल साहले अविजित ६२ रन बनाएका थिए ।
कर्णाली सामु त्यो हारको बदला लिने अवसर छ भने जनकपुर भने क्वालिफायर वानको हार पिडा बिर्साउँदै कर्णालीविरुद्धको लय कायम राख्दै फाइनल पुग्ने लक्ष्यमा छ।