रविविरूद्ध आज अदालतमा मुद्दा दर्ता गरिँदै
काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछाने विरुद्ध आज अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।
सरकारी वकिलले लामिछाने जोडिएको सूर्यदर्शन सहकारीको रकम अपचलनको मुद्दा आज अदालतमा दर्ता गर्ने तयारी गरेको हो । सरकारी वकिल कार्यालय कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले अनुसन्धानको मिसिल अध्ययन गरिरहेको र आज अदालतमा अभियोग पत्र दर्ता गर्ने तयारी रहेको बताइन् ।
सरकारी वकिल कार्यालयले मिसिल अध्ययन अध्ययन र अभियोगपत्र तयार पार्न ४ दिनको समय बाँकी राखिएको थियो। उक्त समय आज सकिँदैछ । कार्यालयले रविविरुद्ध तीनवटा अभियोग दर्ता गर्दैछ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गर्नेगरी अभियोग पत्र तयार भइरहेको कार्यालयले जनाएको छ ।
झण्डै ६ सय पृष्ठ लामो प्रहरी मिसिलमा गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि, उनका पार्टनर एवं गोरखा मिडियाका सञ्चालक पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ ।
सहकारीको ऋण तिर्न रविले काटेका चेक प्रहरीले बरामद गरेको छ । यसलाई पनि प्रहरीले सहकारी ठगीको प्रमाणको रूपमा लिएको छ । गोरखा मिडिया र सुप्रिम सहकारीमाथि अनुसन्धानका क्रममा लामिछानेले काटेको चेक फेला परेपछि उनलाई चेकको प्रतिलिपि देखाएरै सोधपुछ गरिएको थियो।
प्रहरीले ५१ जना प्रतिवादीविरुद्ध १ अर्ब ५१ करोड रुपैयाँ माग दाबी लिएर मुद्दा दर्ता गर्न सरकारी वकिल कार्यालयमा राय पेश गरेको थियो।