प्रमुख तीन दल भ्रष्टाचारमा चुर्लुम्म डुबे: अध्यक्ष भट्टराई
काठमाडौं। नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रमुख तीन राजनीतिक दलहरु चरम भ्रष्टाचारमा डुबेको आरोप लगाएका छन्।
जनकपुरधाममा शनिबार नेपाल समाजवादी पार्टी नयाँ शक्ति मधेश प्रदेश कमिटीको कार्यालय उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र मधेशवादी राजनीतिक दलहरु चरम भ्रष्टाचारमा लिप्त रहेको बताए।
उनले आफूले गरेका भ्रष्टाचारहरु लुकाउन सरकार फेरिने र एकले अर्कोलाई आरोप लगाउने गरेको बताए। भ्रष्टाचार तन्त्रमा फसेको राजनीतिलाई भ्रष्टाचाररहित, सुशासनयुक्त राजनीति स्थापना गर्ने र देशमा तिब्र विकास र समृद्धि ल्याउने एजेण्डा आफूले बोकेको बताए।
उनले देशको मुख्य समस्या गरिबी र बेरोजगारी रहेको भन्दै यसलाई हटाउन आर्थिक विकासमा केन्द्रित हुनुपर्ने बताए। उनले देशलाई २० वर्षभित्र गरिबीबाट मुक्त गर्ने, रोजगारी सिर्जना गर्ने गुरुयोजना आफूहरुले बनाएको बताए। भोट किनेर सत्तामा पुग्ने र पालैपालो देशलाई खोक्रो बनाउने काम भइरहेको बताए।
भ्रष्टाचार अन्त्य गर्न अधिकार सम्पन्न आयोग बनाउने र सबै भ्रष्टाचारीहरुको छानविन गरेर कठघरामा उभ्याउने प्रतिबद्धता जनाए।
उनले भने, ‘सबै पार्टी जसरी चरम भ्रष्टाचारमा डुबेका छन्, नेताहरु सबै कमिसनखोरीमा गाँजिएका छन्। अन्तर्राष्ट्रिय स्तरका अर्बौं, अर्बका भ्रष्टाचार भएका छन्। त्यसैले यी ठूलाठूला नेताहरु पालैपालो सत्तामा बसेर आफ्नो भ्रष्टाचारको काण्ड लुकाउने प्रयत्नमा छन्। प्रत्येक पटक सरकार फेरिन्छ, अनि अर्कोलाई भ्रष्टाचारी भन्छ।ु
संघीयताका अपूर्णतालाई कानुनहरु छिटो बनाएर प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने बताए। केन्द्र र प्रदेशमा प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् मोडलबाट जानेगरी आफूहरु अघि बढ्ने बताए।