चिसोका कारण छालामा समस्या बढ्दो

काठमाडैं। चिसोसँगै छालामा समस्या आएर अस्पताल पुग्नेहरुको सङ्ख्या बढेको छ। जाडो बढेसँगै बहिरङ्ग सेवामा धेरैजसो छाला सुक्खा हुने, एलर्जी हुने, छाला खस्रो हुने, फुट्नेलगायत समस्या लिएर आउने गरेका वीर अस्पतालकी छाला तथा यौन रोग विशेषज्ञ प्राध्यापक डा.अनुपमा कार्कीले बताउनुभयो।

यस्तै जाडोका कारण छालामा रातोपना,फोका आउने,चिलाउने,पोल्ने समस्या धेरै देखिने गरेको उहाँले बताउनुभयो। जाडोमा सरसफाइको कमीले छालाको समस्या बढ्ने उहाँको भनाइ छ।

जाडोमा लुतोको समस्या पनि उत्तिकै हुन्छ। प्रायः मान्छे जाडोमा कम नुहाउने, लुगा फेर्न अल्छी गर्ने, समय–समयमा सिरक, डसना घाममा नसुकाउने लगायतका कारण समस्या आउने गरेको उहाँले बताउनुभयो।

निजामती अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा। प्रज्जवल पुडासैनी जाडो मौसममा हावामा आद्रता कम हुने भएकाले छाला बढी सुक्खा हुने र यसैका कारण समस्या आउने बताउनुहुन्छ। जाडोमा एलर्जीको समस्या पनि बढी देखिने उहाँको भनाइ छ।

जाडोमा पर्याप्त पानी पिउने, फलफुल र हरियो तरकारी पर्याप्त खाने, व्यक्तिगत सरसफाईमा ख्याल गर्ने र सुख्खा छालामा नरिवलको तेल, जैतुनको तेल वा भ्यासलिन लगाउने गरेमा समस्या कम हुने डा। अनुपमा कार्कीले बताउनुभयो।रासस