अखिल (क्रान्तिकारी)मा ३२ वर्षे उमेर हद लागु, माघ ५ गते मनोनयन दर्ता
काठमाडौं।नेकपा (माओवादी केन्द्र)निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)मा उमेरहद लागु भएको छ।
संगठनमा ३२ वर्षे उमेर हद लगाउने कि खुल्ला उम्मेदवारी दिन सक्ने भन्ने विषयमा विवाद भएपछि क्रान्तिकारीले चुनावमार्फत यसको निर्क्योल गरेको हो।
शनिबार सम्पन्न निर्वाचनको परिणाम ढिलागरी आइतबार राति सार्वजनिक गरिएको छ।
परिणाम ३२ वर्षे उमेरहद लगाउनुपर्नेको पक्षमा आएको संगठनको केन्द्रीय निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत मुक्ति नारायण प्रधानले विज्ञप्ति जारी गरेर घोषणा गरेका हुन्।
२ हजार ३९८ ले मदाता रहेकामा १ हजार ७८९ जना प्रतिनिधि मतदानमा सहभागी भएका थिए।
उमेर हद लगाउनु पर्छ भन्ने पक्षमा ९०० मत परेको र उमेर हद खुल्ला राख्नुपर्छ भन्नेमा ८७९ मत परेको थियो। १० मत बदर भएको छ।
उमेर हद लगाउनुपर्छ भन्ने पक्षमा २१ मत बढी भएकाले उमेर हद लगाउने मतको पक्ष विजय भएको घोषणा मुख्य निर्वाचन अधिकृत प्रधानले गरेका छन्।
७७ भौगोलिक र अरू गैरभौगिलिक गरी ८६ जिल्लामा निर्वाचन भएको थियो। शनिबार बेलुका नै मतगणना सकिएपनि जिल्लाबाट आएको परिणामलाई अस्वीकार गर्दै दुवै पक्षले उजुरी दिएपछि मतपरिणाम सार्वजनिक भएको थिएन।
उमेर हद खुल्ला गर्नुपर्ने पक्षमा परिणाम नआएपछि खुल्ला निर्वाचन गर्नुपर्ने पक्षका विद्यार्थीहरूले बैतडी, बाजुरा, गुल्मी, मोरङलगायत जिल्लामा उजुरी दिएका थिए।
खुल्ला हुनुपर्ने पक्षकाहरूले उजुरी दिएपछि उमेर हद लगाउने पक्षका विद्यार्थीहरूले पनि अछाम, दाङलगायत जिल्लामा फेरि मतदान गर्नुपर्ने माग गर्दै उजुरी दिए।
विद्यार्थीहरूको उजुरी परेपछि निर्वाचन आयोगले मत परिणामा सार्वजनिक गर्न स्थगित गरेको सूचना प्रकाशन गरेको थियो।
मत परिणाम सार्वजनिक हुनै लाग्दा विद्यार्थीहरूले बखेडा निकालेपछि निर्वाचन समितिका पदाधिकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुसँग छलफल गरेका थिए।
मतपरिणाम उमेरहदको पक्षमा आएको घोषणासँगै सोहीअनुसार पदाधिकारी र सदस्यहरूको निर्वाचनका प्रक्रिया अगाडि बढ्नेछ।
समितिले यसअघि दोस्रो चरणको निर्वाचन कार्यक्रम पुस १५ गते मनोनयन दर्ता गर्नेगरी सार्वजनिक गरिएको कार्यतालिका पनि संशोधन गरिएको जनाएको छ।
जसअनुसार माघ ५ गते मनोनयन दर्ता र माघ १२ गते मतदानको मिति तोकिएको छ। अन्य कार्यतालिका पछि प्रकाशित हुने पनि केन्द्रीय निर्वाचन समितिले जनाएको छ।