जनता दिनप्रति दिन रोगी, सरकारलाई छैन कुनै चासो

विदेशबाट दैनिक हजारौं मानिसहरु नेपाल आइरहेका छन् । तर, उनीहरुमा के–कस्तो रोग छ ? भनी सरकार एयरपोर्टमा स्वास्थ्य चेकजाँच गर्दैन । बजारमा अधिकांश मानिसमा टाउको दुख्ने, ज्वरो आउने, वाकवाक लाग्नेजस्ता लक्ष्यण देखिएको छ । जोकोही आफुलाई त्यस्तो लक्ष्यण देखेको बताउँछन् ।

सरकारले मुलुकमा कोरोना भाइरसको परीक्षण गर्न छोडिसकेको छ । पछिल्लो समय चीनमा नयाँ भाइरस देखिएसँगै फेरि पनि महामारीको जोखिम बढेको छ । अहिले वायु प्रदूषण र अखाद्य पानीका कारण पनि मानवीय स्वास्थ्यमा यस्ता समस्यहरु देखिन थालेको बताइन्छ । तर, सरकार सर्वसाधारणको स्वास्थ्यमा देखिएको समस्याबारे गम्भीर देखिँदैन ।

के कारणले स्वास्थ्यमा समस्या आयो ? कतै चीनको नयाँ भाइरस नेपालमा त भित्रिएन ? यसबारे सरकारले खोजतलास गरेको छैन । २०७६ सालमा मुलुकमा पहिलो पटक विदेशबाट आएका एक नागरिकमा कोरोना भाइरस पुष्टि हुँदा सरकारले देशभर लकडाउन गरेको थियो । २०७६ साल चैत ११ गतेदेखि देशभर लकडाउन गरियो ।

आम सर्वसाधारणलाई घरबाहिर समेत निस्किन दिइएन । केही महिनापछि कोरोना महामारी न्यूनीकरण भएको भन्दै लकडाउन खुलाइयो । तर, लकडाउन खुलाएपछि कोरोनाले झनै महामारीको रुप लियो । त्यसपश्चात् सरकारले ०७८ वैशाख १६ गतेदेखि फेरि लकडाउन गर्यो । कोरोना महामारी तीव्र रुपमा फैलिएसँगै सरकारले स्वास्थ्यका विभिन्न मापदण्ड बनायो ।

अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, सामाजिक दुरी कायम गर्नुपर्ने, हात स्यानिटाइज गर्नुपर्ने, सार्वजनिक यातायातमा समेत सिटभन्दा बढी यात्रु हाल्न नपाइने तथा स्यानिटाइजर राख्नुपर्ने भनियो । अहिले कालिमाटी, बल्खु तरकारी तथा फलफूल बजारमा होस् या गोगंबु, जडीबुटीको नयाँ बसपार्क, भाटभटेनी, सुपरमार्केट, बिग मार्ट, होटल, रेस्टुरेन्ट वा सार्वजनिक स्थलमा न कसैले मुखमा मास्क लगाएको पाइन्छ न सामाजिक दुरी कायम नै ।

यस्तै, अन्तर्राष्ट्रिय एयरपोर्ट, विद्यालय, कलेज, अस्पताल, फिल्म हल, पार्टी प्यालेस, सरकारी कार्यालयलगायतमा पनि कोहीले मास्क लगाएको वा दुरी कायम गरेको भेटिदैन । बजारमा जोकोही कुनै न कुनै रोगबाट पीडित भएको देखिन्छन् । कोही आफुलाई मरणसरह टाउको दुख्ने बताउँछन् त कोही रिगंटा लाग्ने, वाकवाक लाग्ने र जीउ कमजोर हुने गरेको भन्छन् ।

पैसा हुने मानिसहरु त अस्पतालमा गएर उपचार गरिरहेका छन् । अनि पैसा नहुने मानिसहरु चाँहि घरमै रोग पालेर मृत्युको दिन कुरिरहेका छन् । सरकार जनता कसरी रोगी बने ? कुन रोग लागेको हो ? भनी चेकजाँच गर्दैन । कोरोना महामारी रोकिएसँगै सरकारले स्वास्थ्य मापदण्ड खुकुलो बनाएको छ ।

तर, छिमेकी मुलुकहरुमा दिनहुँ नयाँ नयाँ रोग तथा भाइरस देखिनुले त्यसको सिधा असर हामी कहाँ पनि पर्ने स्पष्ट छ । छिमेकीमा नयाँ भाइरस देखिसक्दा पनि सरकार स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्दैन । न मुखमा मास्क अनिवार्य रुपमा लगाउन भन्छ न स्यानिटाइजर गर्न वा सामाजिक दुरी कायम राख्न ।

त्यसो त अहिले सरकारले निःशुल्क रुपमा कोभिड–१९ भाइरसको परीक्षण गरेमा यसका रोगीहरु छ्यापछ्याप्ती भेटिने बताइन्छ । कतिपय बिरामी तथा तिनका आफन्तहरु पनि कतै कोरोना त लागेन भन्छन् । यद्यपि, सरकारले यसलाई ख्यालठट्टामा लिइरहेको छ । घरेलु औषधी वा चिकित्सकले दिएको औषधी खाँदा समेत रुघाखोकी, टाउको दुख्न कम नभएको बिरामीहरु बताउँछन् ।

यसैले, अब सरकारले काठमाडौं उपत्यकाभित्र बसोबास गर्ने सर्वसाधारणको मात्रै कोरोना परीक्षण गरेमा कोरोना छ वा छैन ? भनी छर्लङ्ग हुनेछ । अहिले सरकारले छिमेकी मुलुकसहित विभिन्न देशबाट आएका नागरिकलाई स्वास्थ्य परीक्षणबिनै प्रवेश गराउँछ । न एयरपोर्टमा स्वास्थ्य परीक्षण हुन्छ न नाका सीमानामा नै । जसले गर्दा विदेशबाट आएका मानिसहरुले रोग भित्राइरहेको अधिकांशको आशंका छ ।

बजारमा अधिकांश मानिसहरुमा कोरोना भाइरसजस्तै लक्षण देखिन थालेको छ । भर्खरका युवाहरु समेत आफुलाई हिड्ँन गाह्रो हुने, सास रोकिने, ज्वरो आउने, वाकवाक हुनेजस्ता लक्षण देखिएको बताउँछन् । यसकारण अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनतामा कसरी र कुन रोग लाग्यो ? भनी चेकजाँच गर्नुपर्छ ।

यदि कोरोना भाइरस पुष्टि भएमा स्वास्थ्य मापदण्ड कडाईका साथ लागू गर्नुपर्छ भने वायु प्रदूषणका कारण भएको हो भने इट्टाभट्टा, २० वर्ष पुराना सवारीसाधन वा धुँवाको मुस्लो फ्याल्ने गाडी सञ्चालनमा रोक लगाउनुपर्छ । सरकार जनताको अभिभावक हो । जनतालाई केही पनि भएमा त्यसको जिम्मेवारी सरकारले लिनुपर्छ ।

त्यसैले, अब सरकार जिम्मेवार हुन आवश्यक छ । रोगलाई ख्यालठट्टामा लिनुहुन्न । नभए यसले एकपछि अर्को मानवीय ज्यान लिँदै जाने छ । अनि त्यतिबेला महामारीको रुपमा रोग फैलिएपछि सरकार जनता मरेको मर्नबाहेक केही गर्न सक्दैन । यसकारण अहिले नै सरकार सतर्क हुनुपर्छ । जनता दिनप्रति दिन रोगी बन्दै गएका छन् ।

बिहानबेलुका घरबाटै निस्किदैँनन्, सर्वसाधारण । किनकि कोही घरमा थलो परेका छन् त कसैमा बाहिर निस्किएमा रोग लाग्ने त्रास छ । जमिनमुनि खानेपानी र ढलको पाइपसँगै छ । त्यो पानी पिउँदा पनि रोग फैलिएको हो कि ? सरकार अब खोजतलास गरियोस् । नेपालीमा एउटा ऊखान छ, ‘बाहिर देखाउने दाँत एउटा, भित्र पचाउने एउटा ।

यो उखान अहिले उपत्यकाबासीसँग मेल खान्छ । उपत्यकामा बसोबास गर्ने अधिकांश रोगी छन् । यद्यपि, उनीहरु किरिम, पाउडर ढलेर बाहिर चिटिक्क परेर हिँड्छन् । भित्र भने शरीरमा उनीहरु रोगैरोगबाट पीडित ह्ुन्छन् । अब सरकारले आम नागरिकको निःशुल्क रुपमा स्वास्थ्य परीक्षण गर्नुपर्छ । अहिले एक चोटी अस्पताल जाँदा एक–दुई महिनाकै तलब खर्चिन्छ ।

यत्रो पैसा लाग्ने भएपछि मानिसहरु रोग पालेर बस्छन् तर अस्पताल जाँदैन । रोगले मर्ने लाग्दा समेत अधिकांश मानिस घरमै थला परिरहेका हुन्छन् । यसैले, अब सरकारले हरेक नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्नुपर्छ । यसो गरेमा जनता कुन रोगबाट पीडित छन् ? र, त्यो रोग कसरी न्यूनीकरण गर्ने भनी सरकारले बेलैमा तयारी समेत गर्न सक्छ ।

सरकारले जनतालाई रोग लाग्नबाट र रोग लागेपछि पनि बचाउनुपर्छ । किनकि यो सरकारको दायित्व हो । विद्यालयहरुमा छात्रछात्राहरु बेहोस भएको घटना पनि बेलाबखत आइरहन्छन् । तर, ती बालबालिका बेहोस हुनुको कारण के हो ? भनी पनि सरकार चेकजाँच गर्दैन । सर्वसाधारणको स्वास्थ्यप्रति स्वास्थ्यमन्त्री प्रदीप पौडेल गम्भीर देखिदैँनन् । उनी जनता कुन रोगबाट पीडित छन् ? र, कसरी भए भनी खोजतलास गर्दैनन् ।

जनताको ज्यानको सुरक्षा गर्नु राज्यको दायित्व हो । सरकार यो दायित्वबाट पन्छिन पाउँदैन । अब सर्वसाधारणको स्वास्थ्यप्रति सरकार गम्भीर बनोस् । आफ्ना नागरिकलाई रोग लाग्नबाट र लागेपछि पनि जोगाउन सरकार लागोस् ।