विश्वकप खेल्ने महिला यू-१९ क्रिकेट टिमको बिदाइ

काठमाडौं। मलेसियामा हुने आईसीसी यू-१९ महिला टी२० विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाइ गरेको हो।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी,क्यानका उपाध्यक्ष रोशन सिंह,सचिव पारस खड्का लगायत क्यानका सदस्य तथा महिला सिनियर टिमकी कप्तान इन्दु बर्माले शुभकामना सहित टोलीको बिदाइ गरेका हुन्।बिदाइ कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले टोलीलाई कुनै पनि दबाब नलिइकन खेल्न आग्रह गरे।

मन्त्री तेजुलाल चौधरीले उमेरमा सानो भएपनि उत्कृष्ट खेल प्रदर्शन गर्नेमा विश्वास व्यक्त गरे। उनले क्यानले पछिल्लो समय गर्दै आएको कामप्रति धन्यवाद व्यक्त गर्दै विद्यालय स्तरदेखि नै खेलाडी उत्पादन गर्नका लागि विद्यालय हरुसँग पनि सहकार्य गर्न सकिने बताए।

कार्यक्रममा बोल्दै यू-१९ कप्तान पूजा महतोले क्यानले आफूलाई कप्तानको भूमिका दिएकोमा धन्यवाद व्यक्त गर्दै विश्वकपमा राम्रो प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरिन्। एसिया कपमा राम्रो खेलेर पाकिस्तानलाई हरायौं,अब विश्वकपमा पनि इतिहास बनाउने प्रयास गर्ने छौं,राम्रो खेल्यो भने जुन कुरा पनि सम्भव छ,पूजाले भनिन्।

प्रशिक्षक महेश प्रसाद रिजालले पनि प्रतियोगिताका लागि राम्रो तयारी भएको बताए। हामीले चितवनमा पनि राम्रो प्रशिक्षण गर्यौं, विश्वकपमा क्षमता प्रदर्शन गर्ने अवसर छ,राम्रो प्रदर्शन हुनेछ भन्ने आशा छ,‌रिजालले भने।

सिनियर महिला टिमकी कप्तान इन्दु बर्माले विश्वकपमा छनोट भएर इतिहास रचेकोमा बधाई दिंदै विश्वकपमा‌ पनि उत्कृष्ट प्रदर्शन गरेर आउन शुभकामना दिइन्।नेपाली यू–१९ महिला टिम शनिबार दिउँसो मलेसिया प्रस्थान गर्नेछ।