कुलमान घिसिङले बुझाए कार्यसम्पादन विवरण
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत आर्थिक वर्ष २०८०/८१ मा गरेको कार्यसम्पादन विवरण मूल्याङ्कन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेस गरेका छन्।
घिसिङलाई पदबाट किन नहटाउने भनेर ऊर्जा सिँचाइ तथा जलस्रोत मन्त्रालयले स्पष्टीकरण सोधेपछि घिसिङले ९८.९९ प्रतिशत अङ्क दाबी गरी मूल्याङ्कनका लागि मुख्य कार्यसम्पादन सूचकाङ्क समेटिएको विवरण पेस गरेका हुन्।
घिसिङसँग गरिएको कार्यसम्पादन करारमा अघिल्लो वर्षको कार्यसम्पादन मूल्यांकन नयाँ आर्थिक वर्षको भदौभित्र गराइसक्नुपर्ने व्यवस्था छ। उनले भदौ महिनाभित्र विवरण उपलब्ध नगराएपछि मन्त्रालयले गत २२ पुसमा स्पष्टीकरण सोधेको थियो।
घिसिङ २०७८ साउन २५ मा प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि दोस्रो पटक नियुक्त भएका थिए। मन्त्रिपरिषद्को निर्णयका आधारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र घिसिङबीच २०७८ माघ ५ मा प्राधिकरण सुधारका विभिन्न सूचकाङ्कसहित कार्यसम्पादन सम्झौता भएको थियो।
तेस्रो वर्षको कार्यसम्पादन मूल्यांकनमा ५० प्रतिशतभन्दा कम अंक आयो भने उनलाई पदबाट हटाउन सिफारिस गर्नसक्ने व्यवस्था छ। ऊर्जा मन्त्रालयबाट आव २०७८/७९ र २०७९/८० मा गरेको कार्यकारी निर्देशक घिसिङको कार्यसम्पादनमा क्रमशः ९४.२३ र ९८.९४ प्रतिशत अङ्क प्राप्त भएको थियो।