ललितपुरको ‘खुमलटार आदर्श समाज’द्वारा एसईई दिएका विद्यार्थीलाई सम्मान
काठमाडौं । ललितपुरको खुमलटार आदर्श समाजले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरुलाई सम्मान गरेको छ। समाजले ललितपुर महानगरपालिका–१५ का विद्यार्थीहरुलाई सम्मान पत्रसहित सम्मान गरेको हो। २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ललितपुर महानगरपालिका वडा नम्बर १५ बाट सहभागी भई उत्तिर्ण भएका विद्यार्थीहरुलाई सम्मान गरिएको हो । सो वडाका सामुदायिक र निजी गरी जना विद्यार्थीहरु सम्मानित भएका छन्।
वडाबाट सबैभन्दा बढी जीपीए ल्याउने विद्यार्थीहरुलाई नगदसहित सम्मान गरिएको छ। जसअनुसार सबैभन्दा बढी जीपीए प्राप्त गर्ने रिकेश महर्जन र जेनिशा बजगाईलाई १५/१५ हजार, दोस्रो जीपीए प्राप्त गर्ने मोक्क्ष्य पोखरेल र अदिती पराजुलीलाई १०/१० हजार, तृतीय जीपीए प्राप्त गर्ने प्रशन्न थापालाई ५ हजार र सान्त्वना जीपीए प्राप्त गर्ने हेमा कडायत र विनायक बोगटीलाई २ हजार ५ सय नगदसहित सम्मान गरिएको हो। सम्मानित हुने विद्यार्थीहरुले यो सम्मानले आफूहरुलाई थप हौसला मिलेको र उच्च शिक्षामा समेत राम्रो नतिजा ल्याउने प्रेरणा दिएको बताएका छन्।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले आफूले एसईईमा राम्रो नतिजा ल्याउने विद्यार्थीहरुलाई नगदसहित सम्मान गर्दा आफूमाथि अख्तियारले मुद्दा चलाएको भन्दै असन्तुष्टि व्यक्त गरे । राम्रा काम गर्दा यस्ता मुद्दाहरुले आफू विचलित नहुने उनको दाबी छ।
यस्तै, कार्यक्रमका विशिष्ट अतिथि हास्यकलाकार किरण केसीले सम्मानित हुने विद्यार्थीहरुलाई हौसलास्वरुप बधाई दिँदै यस्तो सम्मान गर्ने खुमलटार आदर्श समाजलाई धन्यवादसमेत ज्ञापन गरे ।
खुमलटार समाजका अध्यक्ष सहदेव राउतले खुमलटार आदर्श समाजले विगतदेखि नै यस खालका सामाजिक कार्य गर्दै आइरहेको बताए।
यस्तै, समाजका सचिव एवम् कार्यक्रम संयोजक श्याम राउतले विद्यार्थीहरुको उच्च शिक्षा थप मजबुत र व्यवस्थित होस भन्नका लागि यो सम्मान गरिएको बताए।
समाजले विगतदेखि नै वडाबाट माध्यमिक शिक्षा परीक्षा ९एसईई०मा बसोबास गरी उत्तिर्ण भएका विद्यार्थीहरुलाई यसरी नै सम्मान गर्दै आइरहेको छ।