पाँच वर्षअघि सोचविचार नगरी लगानी,अहिले छैन निन्द्रा र भोक

सांकेतिक तस्वीर

आम नागरिकको निन्द्रा र भोक हराउँदै गएको छ। उनीहरु चिन्तित छन्। चिन्ताका कारण न खाना खान्छन् न सुत्छन् नै। यसको कारण हो, लगानी डुब्नु। नेपालीमा एउटा उखान छ,चोक्टा खान गएकी बुढी झोलमै डुबेर मरी। यो उखान अहिले उनीहरुको जीवनसँग मेल खान पुगेको छ। कुनै पनि क्षेत्रमा लगानी गर्नुपूर्व त्यसबारे आवश्यक जानकारी लिन आवश्यक पर्छ।

तर, दलालीहरुको लहैलहैमा लागेर सोचविचार नगरी लगानी गर्दा उनीहरु चुलुम्मै डुबेका छन्। अहिले मर्नु कि बाँच्नु अवस्थामा अधिकांश मानिस परेका छन् । २०१९ सालसम्म काठमाडौंको त्रिपुरेश्वरदेखि कालीमाटी चोक आसपाससम्म घर बनेको थिएन। उपत्यकामै त्यतिबेला घर थिएन । कोही झुपटीमा बस्थे त कोही कच्ची माटोको घरमा । सो समयमा जग्गा किनबेच नै हुदैँन्थ्यो।

रोपनीको पाँच सय रुपैयाँमा जग्गा दिन्छुभन्दा समेत त्यो समयमा जग्गा किनबेच नहुने ९५ देखि सय वर्ष पुगेका बुढापाका अहिले पनि बताउँछन्। एक रोपनी जग्गामा १६ आना हुन्छ। पाँच वर्षअघि त्रिपुरेश्वरदेखि कालीमाटी चोक आसपासका जग्गा आनाकै ७ करोडदेखि १७ करोडसम्ममा किनबेच भएको बताउने अझै पनि भेटिन्छन् । यसरी ६ दशकको बीचमा यो कसरी सम्भव भयो ?

जग्गा त्यही हो । ठाउँ पनि त्यही नै हो । अनि मूल्य कसरी एकाएक बढ्यो ? केही वर्षयता घरजग्गा कारोबारमा मन्दी छ । जग्गा किनबेच निकै न्यून छ । घरजग्गाको मूल्य दिनप्रति दिन घट्दै गएको छ । पाँच वर्षअघि ७ करोडदेखि १७ करोडमा किनिएको उक्त जग्गा अहिले सस्तोमा बेच्छुभन्दा समेत ग्राहक नपाएको बताइन्छ । घाटा व्यहोरेर आनाकै ५० लाखमा दिन्छुभन्दा समेत किन्ने मान्छे नभेटिएको सुनिन्छ ।

जग्गाको मूल्य बढाउने भूमाफिया, दलालीहरु हुन् । यीनीहरुले नै जग्गाको मूल्य एक्कासी बढाएका थिए । निःमुखा, गरिब किसानसँग रोपनीको पाँच सयदेखि एक हजार रुपैयाँमा जग्गा किने । त्यसमा डोजर चलाएर टुक्रैटुक्रा बनाए । अनि आनाकै लाखौंमा बेचबिखन गर्न थाले । उपत्यकामा जग्गा किन्नेमा ७४ जिल्लाका जनता छन् । अर्थात् देशभरका जनताले यहाँ जग्गा किनेर घर बनाएका छन् ।

बाहिरी जिल्लामा जग्गा बाँझो बस्यो । अनि घरमा ताल्चा लाग्यो । उपत्यकामा भने जग्गाका लागि हानाथाप हुन थाल्यो । एउटा सानो टुक्रा भूमिका लागि समेत प्रतिस्पर्धा चल्यो । उपत्यकामा जग्गा किनेर घर बनाएमा संसारकै धनी हुने सोच मानिसहरुमा उत्पन्न भयो । जसका कारण उपत्यकाका सबै खेतीयोग्य जमिन मासिए। खेतीयोग्य जमिनमा डोजर चलाइयो । र, घर बनाइयो । उपत्यकाको माटोलाई देशै राम्रो वा खेतीयोग्य माटो मानिएको छ । विडम्बना, अहिले उपत्यकामा खेती गर्नका निम्ति एउटा टुक्रा समेत खाली जमिन भेटिदैँन ।

दलाली, भूमाफियाहरुले खेतीयोग्य जमिन सिध्याए । त्यो जमिन महँगोमा बेचेर जनतालाई पनि डुबाएका छन् । तीन वर्षअघि उपत्यकामा एउटा खाली सटर पाउन महिनौं खोज्नु पथ्र्यो । यति खोज्दा पनि नभेटिएपछि दलाली कहाँ पुग्नु पथ्र्यो । तर, अहिले उपत्यकामा खाली सटर छ्यापछ्याप्ती भेटिन्छन् । राजधानीकै प्रमुख व्यापारिक केन्द्रमा समेत सटर धमाधम खाली भइरहेको छ ।

व्यापार व्यवसाय ठप्पै भएको छ । अधिकांश व्यापारीहरुले भाडा तिर्न सकेका छैनन् । व्यापारीहरु दिनभर बहनी समेत नहुने गुनासो गर्छन् । आफुहरु पनि पलायन हुने अवस्थामा पुगेको उनीहरु बताउँछन् । अधिकांश व्यापारीले भाडा घटाउन समेत माग गरिरहेका छन् । उनीहरु भन्छन्, ‘कि ५० प्रतिशत भाडा घटाइयोस् । नभए हामी भाडा तिर्न सक्दैनौं ।’ व्यापारीहरुले भाडा पनि नतिर्ने अनि सटर पनि खाली नगर्ने भएपछि घरधनीहरु चिन्तित भएका छन् ।

त्यसो त घरधनीहरुले पनि लुट्नु लुटेका छन् । एउटै कोठाको ठाउँअनुसार मासिक भाडा ५ हजारदेखि २० हजार, एक फ्ल्याटको ३० हजारदेखि तीन लाख र एउटा सटरको २० हजारदेखि १९ लाख रुपैयाँसम्म असुलेका छन् । खाली सटर त २० देखि ६० लाखमा किनबेच गरिन्छ । आम्दानी हुनुञ्जेल त व्यापारीहरुले घरधनीहरुले भनेजति भाडा तिरे । तर, अहिले व्यापार ठप्पै भएको छ ।

तैपनि घरधनीहरुले भाडा घटाउन अटेर गरेपछि उनीहरुले नयाँ जुक्ति लगाएका छन् । घरधनीहरुको अन्याय, अत्याचारविरुद्ध उनीहरुले आवाज उठाउन थालेका छन् । अहिले व्यापारीहरु घरधनीहरुकै मुखमा भन्छन्, ‘हाम्रो भाडा घटाउनुस् । नभए वडा कार्यालयमा हिँड्नुस् ।’ घरधनीहरुले डेराबहालसँग मनलाग्दी भाडा असुलेर राज्यलाई भने कर छल्दै आएका छन् ।

स्थानीय तहबाट कोही पनि अनुगमनमा नआउने भएकाले उनीहरु चर्को मूल्यमा घर भाडामा लगाएपछि आफ्नो घर वर्षौदेखि खाली रहेको र सित्तैमा आफन्त बसेको बताउँछन् । यतिमात्र नभई वडा कार्यालयमा सस्तो भाडा सम्झौता गर्ने तर त्यसभन्दा दश गुणा बढी भाडा असुल्ने त घरधनीहरुको प्रवृत्ति नै छ।

यसबाट जानकार व्यापारहरुले अहिले घरधनीको विरोधमा बोल्न थालेका छन् । किनकि पहिला आम्दानी हुँदा त उनीहरुले भाडा तिरेकै हो। अहिले आम्दानी नभएपछि भाडा तिर्न नसक्दा सहुलियत दिनुको भाडा घरधनीहरुले उल्टै दुव्र्यवहार गरेपछि उनीहरु आक्रोशित बनेका हुन्।

यहाँ एउटै व्यक्तिले २७ वटासम्म घर बनाएर भाडामा लगाएको बताइन्छ । घर भाडामै लगाएर घरबेटीहरु महिनाकै लाखदेखि करोड उठाउँछन्। एउटा घरमा करोडदेखि अर्ब लगानी गरिएको हुन्छ । तर, लगानी र आम्दानी दुवैको राजस्व राज्यलाई तिर्दैनन्। २०७८ सालको राष्ट्रिय जनगणनाअनुसार नेपालको कुल जनसंख्या दुई करोड ९१ लख ६४ हजार ५७८ जना रहेको छ । यसमा एक करोड जनसंख्या रोजगारीलगायत विविध कारणले बाहिरी देश रहेको छ।

तर, उपत्यकामा घरको संख्या हेर्ने हो भने जनसंख्या बढी घर बनेको पाइन्छ । अहिले मानिसहरु भन्छन्, मन्दी लाग्यो । जग्गा किनबेच भएन । घरजग्गाको मूल्य घट्यो। अनि रोपनीको पाँच सय रुपैयाँमा बिक्री नहुने जग्गालाई आनाकै करोडौंमा किनेपछि नडुबे के हुन्छ त ! ६२ वर्षअघि पाँच सय रुपैयाँ रोपनीमा बिक्री नभएको जमिन दलालीको लहैलहैमा लागेर पाँच वर्षअघि दुई अर्ब ५६ करोडमा किनियो ।

यसको एउटै उद्देश्य थियो, दुई वर्षपछि दोब्बर मूल्यमा बेच्ने । तर, अहिले यही जग्गा आनाको लाखमा समेत बिक्री भइरहेको छैन । पैसाको फिटीफिटी परेर जग्गा बेच्न खोज्दा एकातिर बिक्री हुन्न, अर्कोतिर मूल्य ह्वात्तै घटेको छ।

अहिले त्यो जग्गा किन्ने मानिस मर्नु कि बाँच्नु अवस्थामा पुगेको छ । यदि जग्गा किनेको त्यो रकम पाँच वर्षअघि बैंकमा राखेको भए अहिलेसम्म कति ब्याज आउँन्थ्यो ? तर, दलालीको पछि लागेर सोचविचार नगरी जग्गा किन्दा नराम्ररी डुबिएको छ ।

व्यक्ति मात्र नभई बैंक तथा वित्तिय संस्थाले पनि घरजग्गामा लगानी गरेका छन् । यो क्षेत्रमा लगानी गर्दा राज्यलाई केही फाइदा थिएन । न त रोजगारी सिर्जना भयो । यसबाट दलाली, भूमाफियालाई मात्र फाइदा पुगिरहेको थियो।

अनि यीनीहरुकै स्वार्थ पुरा गरिरहेका थिए, जनता र बैंक, वित्तिय संस्था। अहिले घरजग्गाको कारोबारमा मन्दी आएपछि दलालीहरु सम्पर्कविहीन भएका छन् । यता, यसमा लगानी गर्ने व्यक्ति आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेका छन् भने बैंक, वित्तिय संस्थामा समेत संकट निम्तिएको छ ।

बैंक, वित्तिय संस्थामा भएको रकम सर्वसाधारणको हो। तर, दलालीसँग कमिशन खाएर बैंक, वित्तिय संस्थाका सञ्चालक, अध्यक्षहरुले यो क्षेत्रमा आँखा चिम्लेर लगानी गर्दा अहिले जनताको निक्षेप बालुवामा पानी बराबर भएको छ। सहकारी त यही क्षेत्रमा लगानी गरेर डुब्यो। सहकारी डुब्दा, भाग्दा करोडौं जनता डुबे । अब भने बैंक टाट पल्टिने दिन नजिकिँदै गएको छ । दलालीहरु त उम्किए तर जनता र बैंक, वित्तिय संस्था सडकछाप अवस्थामा पुगेका छन् ।